‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि
काठमाडौं,साउन ३१ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ११ गतेदेखि ‘नाडा अटो शो २०२४’ सञ्चालन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गरिने उक्त अटोमोबाइल प्रदर्शनी १७ गतेसम्म चल्नेछ ।
उक्त शोमा विभिन्न ५५ ब्रान्डका सवारी साधनको प्रदर्शनी गरिनेछ, जसमा चार पांग्रेका २४ ब्रान्ड, दुई पांग्रेका १९ ब्रान्ड र हल्का व्यावसायिक सवारी साधनका १२ ब्रान्ड रहनेछन् । साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ कम्पनी प्रदर्शनीमा सहभागी हुनेछन् ।
नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न प्रदर्शनी आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । उक्त प्रदर्शनी पहिलेभन्दा भव्य र प्रभावशाली हुने आयोजकको अपेक्षा छ ।
अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको प्रदर्शनसँगै देशको अर्थतन्त्रको वृद्धि गर्न प्रदर्शनीले महत्त्वपूर्ण मञ्च तयार पार्ने आयोजकको भनाइ छ ।
प्रदर्शनीमा ९५ कम्पनी तथा संस्थाका १३० स्टलहरू रहनेछन् । शोमा ती कम्पनीका उत्पादन र सेवा प्रदर्शन गरिनेछ ।