विशेष अदालतले दियो भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर महर्जनसहित ९ जना र ५ कम्पनीलाई सफाइ
काठमाडौं,साउन ३१ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित ९ जना र ५ कम्पनीलाई सफाइ दिएको छ ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले मेयर महर्जन, उपमेयर मुना अधिकारीसहित विश्वराज मरासेनी, यमलाल बेल्वासे र मदन केसीलाई राजस्वसम्बन्धी मुद्दामा सफाइ दिएको हो ।
यस्तै, सप्तम निर्माण कम्पनी प्रालि, मधुसुदन डोटेल, निराकर ढुंगा उद्योग प्रालि, केदारनाथ तिमल्सिना, मच्छिन्द्रनाथ मल्टीपर्पाेज प्रालि, शशिराज शाही, सजिलो ढुंगा उद्योग प्रालि, विरेन्द्र महर्जन र विरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिले पनि उक्त मुद्दामा सफाइ पाएका छन् ।
‘…अतः निकासी कर जस्ता शुल्कसम्म लगाउन सक्ने तर सो सम्पत्तिको विक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानूनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (ख) को कसुर हुने देखिँदैन । तसर्थ उपर्युक्त तथ्य आधार, कारण र प्रमाणको रोहमा प्रतिवादीहरू उपर लगाइएको आरोप दाबी पुष्टि हुन आएन,’ अदालतको फैसलामा उल्लेख छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २१ गते गोदावरीका मेयर महर्जनलगायतविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा गोदावरी नगरपालिकाले बागमती प्रदेशको आर्थिक ऐनसँग बाझिने गरी गोदावरी नगरपालिकाको आर्थिक ऐनमा घटी दरको राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको उल्लेख छ ।