नागढुंगा सुरूङमार्ग आयोजना सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने तयारी



काठमाडौं,साउन ३१ । नेपालसँग सुरूङमार्ग सञ्चालनको अनुभव नभएको भन्दै सरकार नागढुंगा सुरूङमार्ग सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने प्रयासमा लागेको छ ।

सडक विभागले देशकै पहिलो यो सुरूङमार्ग आयोजनाको सबै काम २०८२ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसअघि विदेशी कम्पनीमार्फत उक्त सडक खण्ड सञ्चालन गर्न आवश्यक तयारीमा विभाग लागेको हो । 

‘सुरूङमार्ग सम्पन्न गरेसँगै यसका सुरक्षाका विषय, ट्राफिक व्यवस्थापन, अग्नि नियन्त्रण, सुरूङमार्ग प्रयोगकर्ताबाट उठाउने टोल (शुल्क), मर्मतसम्भारजस्ता कुराहरू एकैपटक व्यवस्थापन गर्नुपर्छ । यसका लागि सडक विभागसँग अनुभव छैन,’ आयोजनाका एक अधिकारीले भने, ‘त्यसकारण यो सुरूङमार्ग सञ्चालनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर अनुभवी विदेशी कम्पनी ल्याउने योजनामा हामी छौं ।’

उनका अनुसार ठेक्का प्रक्रियाबाट योग्य कम्पनीलाई सञ्चालनको जिम्मा दिइनेछ । त्यस्तो कम्पनीले सुरूङमार्ग सञ्चालन र मर्मत दुवैथरी काम गर्नेछ । ती अधिकारीका अनुसार सुरूङमार्ग सञ्चालनका साथै टोल संकलनका लागि छुट्टै परामर्शदाता खोजिने छैन । 

जापानको सहुलियतपूर्ण ऋण सहयोग रहेको उक्त सुरूङमार्ग जापानी कम्पनी हाज्मा/आन्दो कर्पाेरेशनले नै बनाउँदै छ । उक्त कम्पनीको कामलाई अनुगमन, नियमन र गुणस्तर परीक्षण गर्ने परामर्शदाता कम्पनीले नै कति टोल शुल्क लिने, मर्मतसम्भारलगायत सञ्चालनका लागि सुझाव दिने भएकाले छुट्टै परामर्शदाता नियुक्त गर्न नपर्ने विभागका अधिकारीले बताए । नियमन, अनुगमन तथा गुणस्तर परीक्षणको काम हालको परामर्शदाताले नै गर्नेछ । परामर्शदाताका रूपमा नेपाली कम्पनी पनि संलग्न छ ।

मुख्य सुरूङ छेडिसकेको यो आयोजनामा अहिले सुरूङभित्र ‘फिनिसिङ’को काम भइरहेको छ । दुई लेनको हुने उक्त सुरूङमार्गभित्रको सडक ढलान (कंक्रिट सडक) हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) गोविन्द दुमरूले जानकारी दिए । उनका अनुसार हाल आयोजनामा लाइटिङ, आगलागी भए नियन्त्रण गर्ने, कालोपत्रे (ढलान) जस्ता काम भइरहेको छ । सुरूङमार्गबाट आवतजावत गर्ने सवारीसाधनबाट उठाउने शुल्क पनि निर्धारण गर्नुपर्ने हुन्छ । ‘सुरूङमार्ग सञ्चालनको कार्यविधि बनाउनुका अतिरिक्त टोल कति हुन्छ र कसले उठाउने भन्ने विषयमा कार्यविधि बनाउने क्रममा छौं,’ दुमरूले भने ।

यो आयोजना ४२ महीनामा सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । सुरूङमार्गको मुख्य शुरूङ २०८१ वैशाख ३ गते छिचोलिएको थियो । २ दशमलव ५ किलोमीटरको उक्त शुरूङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा/आन्दोसँग सम्झौता भएको थियो । कोरोना महामारी र स्थानीयको विवादले पटकपटक सुरूङमार्ग निर्माण अवरुद्ध भएपछि म्याद थपिएर काम सम्पन्न गर्ने समय २०२५ अक्टोबरसम्म पुगेको छ । 

नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच यो सुरूङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । त्यसअनुसार उक्त ऋण तिर्ने अवधि ४० वर्षको हुनेछ । नेपालले जाइकाबाट १६ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यो परियोजनामा नेपाल सरकारले ६ अर्ब रुपैयाँ बेहोर्नेछ । यो सुरूङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्