मध्य भोटेकोशी जलविद्युतको खुद नोक्सानी २ करोड ५७ लाखभन्दा बढीले घट्यो
काठमाडौं,साउन ३० । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा खुद नोक्सानी घटाएको छ ।
अघिल्लो आवमा ४ करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी गत आवमा २ करोड ८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । कम्पनीले गत आवमा २ करोड ५७ लाख रुपैयाँभन्दा बढीले खुद नोक्सानी घटाएको हो ।
गत आवमा कम्पनीको सञ्चालन नोक्सानीमा पनि कमी आएको छ । अघिल्लो आवमा ५ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनी गत आवमा भने ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नोक्सानीमा छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ छ । रिटेन्ड अर्निङ ४१ करोड ४२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको कुल सम्पत्ति २० अर्ब रुपैयाँभन्दा बढी छ ।
अघिल्लो आवमा ११ अर्ब रुपैयाँभन्दा बढी रहेको कम्पनीको दीर्घकालीन कर्जा गत आवमा १३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी कायम छ । चौथो त्रैमाससम्म कम्पनी ३५ पैसा प्रतिशेयर नोक्सानीमा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९३ रूपैयाँ १० पैसा छ ।
यस कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका भएर बग्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।