सत्य निरुपण विधेयक प्रतिनिधिसभामा पेस
काठमाडौं,साउन ३० । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ ।
बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी हुन् ।
प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गरेका थिए । सभापति सिंहले कतिपय विकासका आयोजना राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए ।
उनले मन्त्री फेरिएपिच्छे कर्मचारीको सरुवा गर्नु, आयोजनामा खटिएका कर्मचारीलाई आयोजना नसकिँदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजीनितक हस्तक्षेप हुनुलगायत यावत समस्या रहेका जानकारी गराए ।
आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बार्षिक प्रतिवेदन, २०८१ पेस गरे ।
बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरूको नाम हेरफेर भएको जानकारी गराएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३० गते दिउँसो १ बजे बस्नेछ । रासस