लेन दुरुपयोग प्रकरण: आयातकर्ता खोज्दै सुक्खा बन्दरगाह भन्सार



वीरगञ्ज,साउन ३० । भन्सारको हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित मालसामान भित्र्याएको विषयलाई सुक्खा बन्दरगाह भन्सार कार्यालयले अझै टुंगोमा पुर्‍याउन सकेको छैन । ५ वर्षअघि सुक्खा बन्दरगाह भन्सारमा चलेको यो धन्धाको एक वर्षअघि खुलासा भएको थियो ।

भन्सारले वर्षौंदेखि बन्दरगाहमा रोकेर राखिएका कन्टेनर लिलामीको सूचना निकालेपछि यस्तो पोल खुलेको हो । गत मङ्सिरमा तत्कालीन भन्सार प्रमुख रामप्रसाद मैनालीले यस्तो सूचना निकालेका थिए । कन्टेनर खोलेर हेर्दा घोषणाभन्दा फरक र प्रतिबन्धित मालसामान भेटिएको थियो ।

त्यसबेला भन्सार विभागका उच्च अधिकारीहरूसहितको टोली वीरगञ्जमा आएर अनुसन्धान गरेको थियो । भन्सारका कर्मचारीसमेतको मिलेमतोमा प्रतिबन्धित मालसामान भन्सारबाटै भित्र्याइएको भन्दै विभागका अधिकारीहरूले अनुसन्धान अघि बढाएका थिए ।

सुक्खा बन्दरगाह भन्सारका तत्कालीन कर्मचारी, भन्सार विभागका उच्च अधिकारी र व्यापारीको मिलेमतोमा भन्सार लेनको दुरुपयोग गरी प्रतिबन्धित मालसामान भित्र्याइएको भन्सारका अधिकारीहरूले बताउने गरेका छन् ।

कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, छोकडा, हार्डवेयरका सामानमा स्कुटर, मदिरालगायत सामान फेला परेपछि बन्दरगाह भन्सारले अनुसन्धान अघि बढाएको हो । त्यसबेला सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै केराउ, मरिच, सुपारी, छोकडा, मदिराजस्ता वस्तुको आयात रोकेको थियो । 

एउटा घोषणा गरेर अर्कै वस्तु भित्र्याइएको खुलासा भएपछि भन्सारले ती सामान भित्र्याउने कम्पनीलाई उपस्थित हुन पत्र काटेका थियो । भन्सारले गत माघको पहिलो साता नवलपरासीको महेश्वरी ट्रेडर्स, काठमाडौंको पाथीभरा स्टोर्स, सिगोल ट्रेडिङ, बाग भैरव ट्रेडर्स र जय मुखी एग्रो ट्रेडर्सलाई सातदिने पत्र काटेर उपस्थित हुन भनेकोमा अहिलेसम्म आएका छैनन् । 

ती व्यापारी सम्पर्कमै नआएपछि तीनपुस्ते पत्ता लगाएर उनीहरूको ठेगानामा प्रहरीमार्फत पत्र पठाइएको सुक्खा बन्दरगाहका भन्सार प्रमुख धनबहादुर बरुवालले बताए । बन्दरगाहमा थन्किएका ३०४ ओटा कन्टेनर खोलेर हेर्दा १०० ओटा कन्टेनरमा घोषणाभन्दा फरक मालसामान भेटिएको थियो । यो प्रकरणमा राजस्व अनुसन्धान विभागले पनि चासो राखेको छ ।

साढे १९ करोडको लिलाम 

बन्दरगाहमा अलपत्र छोडिएकामध्ये भन्सारले अहिलेसम्म १०८ ओटा कन्टेनरको सामान लिलाम गरिसकेको छ । भन्सारले करीब साढे १९ करोड रुपैयाँको मालसामान लिलाम गरेको हो । अहिलेसम्म १९ करोड ४६ लाख रुपैयाँबराबरको मालसामान लिलाम गरिसकेको भन्सार प्रमुख बरुवालले जानकारी दिए ।

लिलाम भएका सामानमा कालोमास, मसुरो, लुगा धुने मेसिन, प्लाष्टिक दाना, सुपारी, पोस्ता दाना, मोटर पाटर््स, उपकरणलगायत सामान रहेको पनि बरुवालले बताए । ९६ कन्टेनर मालसामान लिलाम हुन सकेको छैन । ‘तीमध्ये केही उपभोग्य वस्तुको गुणस्तर परीक्षणका लागि पठाइएको भन्सारले बताएको छ । गुणस्तर परीक्षणमा उपभोगयोग्य देखिएका वस्तुमात्रै लिलामी प्रक्रिया अघि बढाउँछौं,’ भन्सार प्रमुख बरुवालले भने । 

एक सय कन्टेनर नष्ट गर्नुपर्ने

भन्सारले १ सय कन्टेनर मालसामान नष्ट गर्नुपर्ने अवस्थामा रहेको भेटेको थियो । लामो समयसम्म बन्दरगाहमा थन्क्याइएका छोकडा, केराउ, पोस्ता दानालगायतका सामान कुहिएकाले नष्ट गर्नुपर्ने भन्सारले बताएको छ । 

कुहिएका यस्ता मालसामान लोड गरिएका कन्टेनर बन्दरगाहको दक्षिणपूर्व कुनामा राखिएको छ । त्यो क्षेत्रमा कुहिएको मालसामानका कारण दुर्गन्ध फैलिएकाले बर्खापछि नष्ट गर्ने योजना भन्सारको छ ।

यति ठूलो परिमाणको मालसामान कहाँ लगेर व्यवस्थापन गर्ने भन्नेमा भन्सार प्रशासन अन्योलमा परेको छ । कुहिएका मालसमान वीरगञ्ज महानगरको ल्याण्डफिल साइटमा फाल्नेबारे समन्वय भइरहेको जानकारी बरुवालले दिए ।

के हो लेन ?

भन्सारमा हरियो, पहेँलो र रातो लेनमा मालसामानको जाँचपास हुन्छ । हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्दछन् । आयातकर्ताको घोषणाकै भरमा यस्ता वस्तुको जाँचपास हुन्छ । पहेँलो लेनमा कागजातको जाँच हुन्छ ।

रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेर मात्रै मालसामान छोडिन्छ । यसमा राजस्व चुहावटका दृष्टिले उच्च जोखिमका वस्तु पर्दछन् । एउटा भनेर अर्कै मालसामान भित्र्याउने गरेको खुलासा भएपछि भन्सार विभागले सुक्खा बन्दरगाहमा केही समयका लागि हरियो लेन हटाएको थियो । 

प्रतिक्रिया दिनुहोस्