सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल



काठमाडौं,साउन २७ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ। अस्पतालले यही भदौदेखि सेवा विस्तार गर्न लागेको हो।

कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए। हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए।

कार्यकारी निर्देशक डा.पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन्। सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ।

प्रतिक्रिया दिनुहोस्