ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे



काठमाडौ,साउन २७ । सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व चल्ने गरेको छ । फलतः हजारौँ सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाइबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ ।

सामान्यतः मान्छेले सर्पले डस्नुभन्दा पनि डस्छ र मरिन्छ भन्ने त्रासका कारण सर्पलाई मार्ने गरेको पाइन्छ । यो सर्प र मानवको शत्रुतापूर्ण अवस्था हो । धनुषाको धनुषाधाम नगरपालिका–५, किसानपुरका गणेश साहले भने सर्पसँग ‘मितेरी’ गाँसेका छन् । उनको ‘मितेरी’ सर्पको उद्धारबाट भएको हो । २३ वर्षीय साहले १४ वर्षको उमेरदेखि नै सर्पको उद्धार गर्न थालेका हुन्  । हिजोआज गाउँघरमा सर्प देख्नासाथ उनकै खोजी हुन्छ । यो क्रम २०७० सालदेखि निरन्तर छ । 

उनको उद्धार यात्रा मधेश प्रदेशमा मात्र र उहाँको काम उद्धारमा मात्र पनि सीमित छैन । सर्प आफ्ना लागि मात्र मित्र नभएर सम्पूर्ण मानव जातिको नै संरक्षक हुने गरी उनी चेतना पनि फैलाउछन् । त्यसका लागि उनको सूत्र सामान्य छ, सर्पको विषको औषधी सर्पको विष नै हुने तथ्य उद्धारको क्रममा उनी जानकारी दिन्छन । एउटा विषालु सर्पको विषबाट बनाइने एन्टी स्नेक भेनम त्यस्तै विषालु सर्पले डसेका धेरैको जीवनरक्षक औषधी बन्ने उनी जानकारी गराउछन ।

सर्प उद्धार गर्न लाग्ने खर्च पनि उनी आफैँ जुटाउछन्  । उनी नजिकको ठाउँमा आफ्नै खर्चमा पुगेर सर्पको उद्धार गर्छन। टाढाबाट बोलाउँदा भने आउनेजाने खर्च पाउछन् । उनी उद्धार गरिएको ठाउँमा स्थानीयलाई सर्पबारे जानकारी पनि गराउँदा नेपालमा पाइने सर्पको नालीबेली बताउछन् । उनका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये १८ प्रजातिका विषालु र बाँकी विषरहित हुन्छन् । उनी सर्पलाई मार्दा पर्यावरणमा ठुलो क्षति पुग्ने सर्वसाधारणलाई जानकारी गराउछन् । 

उनीले सर्प उद्धार गर्न मधेश प्रदेशका आठै जिल्लासँगै कोशी, बागमती, र गण्डकी प्रदेशसम्म विभिन्न जिल्ला पुगेर दुई हजारभन्दा बढीको उद्धार गरेका छन् । उनले भने, “जहाँबाट खबर आए पनि पुग्ने गरेको छु । उद्धार गरेका सर्पमा पहिलो पटक भेटिएका दुई सेता सर्प र लोपोन्मुख राजगोमनसहित अन्य विभिन्न विषालु सर्प छन् । उद्धार गरिएका सर्प नजिकको जङ्गलमा लगेर छाड्ने गरेको छु ।”

साहले उद्धारका क्रममा अहिलेसम्म जोखिमको अवस्था नआएको बताए । उनले नौ वर्षको अवधिमा दुई हजार २८१ वटा सर्पको उद्धार गरेको बताए । उनलाई सर्प उद्धारकर्ता तथा मिथिला वाइल्डलाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले सर्प उद्धार गर्न सिकाएका हुन् । उनले सर्प उद्धारसँगै तालिम पनि दिने गरेको बताए । साहले भने, “सुरुमा सर्प उद्धार गर्ने टोलीमा काम गरेँ । आफँै काम गर्न थालेको चाहिँ नौ वर्ष भयो ।” साहले सर्पसँग किशोरावस्थामै घनिष्ठ भए । उनले सामाजिक कार्यसँगै स्नातक तह तेस्रो वर्षको पढाइ पनि गरिरहेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्