कालीगण्डकी करिडोर: छुसाङ–चैले खण्ड स्तरोन्नति
म्याग्दी,साउन २७ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरलाअन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट चैलेसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेको हो ।
आगामी २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए । सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङस्थित मुस्ताङ गेट पुल संरक्षणलगायत कार्य गर्न २०८० चैत ९ गते रोहित एण्ड छिरिङ/डीएस बिल्डर्स/युनाइटेड जेभी कन्स्ट्रक्सनले रु चार करोड ३१ लाख ८३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले सम्झौताअघि नै काम सकेर अन्तिम किस्ता भुुक्तानी मागेपछि प्राविधिक नापजाँच र मूल्याङ्कन गरी ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको इन्जिनियर चापागाईँले बताए । मुस्ताङको प्रतिकूल भूगोल, मौसम र आर्थिक मन्दीको असहज अवस्थाका बाबजुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले बताए ।
गत असारमै अधिकांश काम सकिएको भए पनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधि एक महीनापछि धकेलिएको उनले बताए । छुसाङ–चैले खण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो । कालीगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्यावियन पर्खाल बनाएर संरक्षण गरिएको छ ।
निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीयस्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजीकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ–चैले सडक स्तरोन्नति योजनाले दिएको छ । रासस