किस्तामा बक्यौता तिर्दै उद्योगी, न्यू नारायण रबर इण्डष्ट्रिजले बुझायो दोस्रो किस्ता
काठमाडौं,साउन २७। डेडिकेटेड फिडर र ट्रंक लाइन महशुलसम्बन्धी विवाद चलिरहेका बेला न्यू नारायन रबर इण्डष्ट्रिज बुटवलले किस्ता सुविधामा बाँकी बक्यौता तिरेको छ । कम्पनीले गत महिना देखि १८ किस्तामा तिर्ने गरि किस्ता सुविधा पाएको थियो ।
प्राधिकरणले कम्पनीको १० लाख २५ हजार बक्यौता रहेको भन्दै गत असार ४ मा पत्र पठाएको थियो । त्यस लगत्तै कम्पनीले असार २६ गते किस्ता सुविधाकोलागि निवेदन दिएर १८ किस्तामा भुक्तानी गर्ने सुविधा पाएको थियो । हाल दोस्रो किस्ता बुझाएको कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता ८ लाख ४७ हजार रहेको छ ।
यस अघि चार उद्योगले बक्यौता बुझाएका थिए । उद्योगी प्राधिकरणबीच विवाद कायमै रहेका बेला बक्यौता रकम बुझाएका थिए । सोना प्याकेजिङ, सोना पोलिमर्स, यशोदा फुड्स र जय दुर्गा प्लास्टिक उद्योगले बक्यौताको केही अंक तिरेका थिए ।
प्राधिकरणका अनुसार यी उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बुझाएका हुन् । सोना प्याकेजिङले २ लाख ८४ हजार रुपैयाँ, सोना पोलिमर्सले २ लाख ७७ हजार रुपैयाँ, यशोदा फुड्सले ३ लाख ४० हजार रुपैयाँ र जय दुर्गाले ७० हजार ५३२ रुपैयाँ बक्यौता तिरेका हुन् ।