काङ्ग्रेसले राख्यो बङ्गलादेशमा सद्भाव कायम हुने विश्वास



काठमाडौ,साउन २६ । नेपाली कांग्रेसले बङ्गलादेशमा जारी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक हिन्दु, बौद्ध समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेको छ । 

केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले पार्टीका तर्फबाट बङ्गलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा व्यक्त गरिएको हो । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, “घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने विश्वास कांग्रेसले लिएको छ ।” उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बङ्गलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास कांग्रेसले लिएको बताए ।  

उनले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बङ्गलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई कांग्रेसले नजिकबाट नियालिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्