नागको पूजा गरेर मनाइँयो नागपञ्चमी
काठमाडौं,साउन २६ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रवार परम्पराअनुसार नागको पूजा गरी मनाइयो ।
यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसी नागको पूजाआजा गर्ने गरिन्छ । यसो गर्दा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
पर्वका अवसरमा देशभरका नागदह, नागस्थानमा पूजा गर्न आउने श्रद्धालुको घुइँचो लागेका थिए । काठमाडौंको नक्सालस्थित नागपोखरीमा पनि नागको पूजा गर्ने श्रद्धालुको भीड लागेको छ । नागको चित्र वा प्रतिमामा फूल, अक्षता, दूध चढाएर पूजा गर्ने प्रचलन छ ।