चाँडै गरिएको धान रोपाइँले उत्पादन बढ्ने सम्भावना



काठमाडौं,साउन २६। सामान्यभन्दा बढी वर्षा भएको कारणले यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ । आकाशबाट प्रचुर मात्रामा पानी परेर धान रोपाइँ चाँडो हुँदा उत्पादन वृद्धिको सम्भावना बढेको सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गतवर्ष साउन १९ सम्म देशभर ८१ दशमलव ८ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष साउन २० सम्म ९६ दशमलव ५३ प्रतिशत जमीनमा रोपाइँ सम्पन्न भएको छ ।

धान रोपाइँ हुने कुल १३ लाख ९८ हजार २७३ हेक्टरमध्ये हालसम्म १३ लाख ४९ हजार ६८२ हेक्टरमा धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकले देखाएको छ । 

कृषि विभागका उप–महानिर्देशक डा. अरुण काफ्लेका अनुसार यस वर्ष मनसुनले किसानलाई राम्रो साथ दिएकाले धान रोपाइँमा तीव्रता आएको हो । नियमित रूपमा भइरहेको वर्षाका कारण देशभरका किसानले कलिलै बीउ रोपाइँ गर्न पाएको र यस्तो बीउ रोप्दा उत्पादन बढ्ने सम्भावना अत्यधिक रहने उनको भनाइ छ । ‘गतवर्ष समयमा वर्षा नहुँदा अधिकांश किसानले ४५ दिनसम्म छिप्पिएको बीउ रोप्नुपरेको थियो । तर, यसपालि नियमित वर्षाका कारण कुनै पनि किसानले २५ दिनभन्दा बढी छिप्पिएको बीउ रोप्नुपरेको छैन,’ डा. काफ्लेले भने, ‘बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले समस्या उत्पन्न गरेन भने यो उत्पादन बढ्ने संकेत हो ।’ यो वर्ष रासायनिक मलको आपूर्ति पनि गतवर्षको भन्दा राम्रो भएको मन्त्रालयले जानकारी दिएको छ । धेरै वर्षदेखि रासायनिक मल पर्याप्त र समयमै आपूर्ति हुन नसक्दा पनि उत्पादनमा असर पर्ने गरेको थियो ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ४ दशमलव ३३ प्रतिशतले बढी हो ।

हालसम्म सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ । सुदूरपश्चिममा धानखेती हुने सबै जमीनमा रोपाइँ सकिएको छ । कर्णालीमा ९९ दशमलव २ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशले पहिलोपटक शतप्रतिशत धान रोपाइँ गरेको हो । सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर जमीनमा धानखेती हुन्छ । त्यसैगरी कर्णालीमा ४१ हजार ९०४ हेक्टर जमीनमध्ये ४० हजार ५७८ हेक्टरमा रोपाइँ सकिएको छ ।

अन्य प्रदेशमा पनि रोपाइँको अवस्था विगतका तुलनामा उत्साहजनक नै देखिन्छ । हालसम्म कोशी प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । कोशीमा २ लाख ७६ हजार ३८६ हेक्टर धानखेती हुने जमीनमध्ये हालसम्म २ लाख ६२ हजार ६०४ हेक्टरमा रोपाइँ सकिएको छ । कोशीमा ९५ दशमलव ५ प्रतिशत जमीनमा मात्रै रोपाइँ भएको छ । अझै १ सातासम्म रोपाइँ हुने भएकाले रोपाइँ हुने क्षेत्रफल ती स्थानमा पनि बढ्ने मन्त्रालयले बताएको छ ।

विज्ञहरूका अनुसार कलिलैमा रोपिएको बीउमा रोग कीराको आक्रमण कम हुने भएकाले उत्पादन बढ्ने सम्भावना बढी हुन्छ । वरिष्ठ कृषिविज्ञ छवि पौडेलका अनुसार कलिलो बीउ रोप्दा चाँडै हुर्कने र बढ्ने हुन्छ । लामो समय ब्याडमा रहेर छिप्पिएको बीउ हुर्कन समय लाग्ने र कीराको प्रकोप पनि त्यसमा धेरै हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्