पाँच वर्षमा कुल जडित विद्युत् क्षमता ७ हजार मेगावाट थपिने प्रक्षेपण



काठमाडौं,साउन २६ । नेपाल विद्युत प्राधिकरणले आगामी पाँच वर्षमा नेपालको कुल जडित विद्युत् क्षमता करीब ७ हजार मेगावाट थपिने प्रक्षेपण गरेको छ । 

आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार सार्वजनिक गरेको उपलब्धि विवरण अनुसार सन् २०२८/२९ मा नेपालको कुल जडित विद्युत् क्षमता झण्डै १० हजार मेगावाट पुग्ने अनुमान छ ।

‘उपरोक्त लक्ष्य पूरा गर्न करीब ७ हजार मेगावाटका आयोजना निर्माणका विभिन्न चरणमा छन्,’ उपलब्धिको विवरणमा उल्लेख छ । 

अहिले देशको कुल जडित क्षमता ३ हजार १५७ मेगावाट पुगेको छ । जडित क्षमतामा सबैभन्दा बढी करीब ९५ प्रतिशत अर्थात् २ हजार ९९१ मेगावाट योगदान जलविद्युतकै छ । यस्तै, थर्मल ऊर्जाबाट ५३ मेगावाट, सौर्य ऊर्जाबाट १०७ मेगावाट र वायोमास ऊर्जाबाट ६ मेगावाट उत्पादन भइरहेको छ । 

पछिल्लो आठ वर्षमा मात्र २ हजार ३०० मेगावाट र ३ वर्षमा १ हजार ७०६ मेगावाट थप भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्