९९ प्रतिशत पुग्यो विद्युतीकरण, ग्राहक संख्या ५९ लाख ३५ हजार पुग्यो
काठमाडौं,साउन २५ । नेपाल विद्युत प्राधिकरण प्रबन्धक निर्देशक कुलमान घिसिङले विद्युतीकरणमा उल्लेख प्रगति भएको बताएका छन् ।
घिसिङले आफ्नो कार्यकालको तीन वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको उनले जानकारी गराए । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरणमा व्यापाक सुधार भएको घिसिङले दावी गरे ।
आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको घिसिङले बताए ।
विद्युत्को ग्राहक सङ्ख्या आठ वर्षअघि २९ लाख ७० हजार रहेको थियो । तर, हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको घिसिङले बताए । अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको उनले बताए ।
मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयअनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक घिसिङ नियुक्ती भएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती भएको आज तीन वर्ष पूरा भएको छ ।
ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७८-७९ र आव २०७९-८० मा क्रमश: ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ । आ.व. २०८०-८१ को मूल्याङ्कनको क्रममा रहेको छ ।
तीन वर्षअघि पदवहालीका बेला ‘आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको उनले दावी गरे ।
प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार गरेको दावी गरे । संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण प्राथमिकता राखेको बताए ।
यस्तै, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडी बढाइएको घिसिङले बताए । देश लोडसेडिङमुक्त भएर नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्ताहरुलाई विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधि मार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी गराए ।