प्राधिकरणले टीओडी मिटरको तथ्यांक समेटिएको एक लाख पानाको विवरण बुझायो लेखा समितिमा
काठमाडौं,साउन २५ । नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको तथ्यांक समेटिएको करीब एक लाख पानाको विवरण लेखा समितिमा बुझाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार टीओडी मिटरको तथ्यांक, लगबुक, एम्पाएरमा भएको बिलिङ र उद्योगीलाई छूट दिएको बिलको विवरण लेखा समितिमा बुझाइएको हो ।
यसअघि टीओडी मिटरको तथ्यांक मेटिएको भन्ने थियो नि भन्ने प्रश्नमा घिसिङले आर्थिक अभियानसँग भने, ‘त्यसबेला टीओडी मिटरको तथ्यांक आवश्यक थिएन । अहिले आवश्यक भयो, त्यसैले अहिले हामीले डाउनलोड गरेर बुझाएका हौं ।’
सार्वजनिक लेखा समितिका सचिव एकराम गिरीले प्राधिकरणले केही बेरअघि टीओडी मिटरको ३७ पोका फाइल लेखा समितिलाई बुझाएको जानकारी दिए । उनले यसबारे अध्ययन गरेर समितिको अर्काे बैठकमा छलफल गरिने बताए ।