चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना
काठमाडौ,साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् । त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।
महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको उनको दलिल थियो ।