बंगलादेशमा हसिनाको पार्टीका नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु
ढाका (बंगलादेश),साउन २३ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका एक नेताको होटलमा आगजनी गरिएको छ ।
बंगलादेशको दक्षिण–पश्चिम शहर जसोरस्थित जबिर इन्टरनेशनल होटलमा सोमवार राति भएको आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । उक्त होटलका मालिक पार्टीका जिल्ला महासचिव शाहिन चक्लदार हुन् ।
त्यहाँको अखबार ‘डेली स्टार’को समाचार अनुसार होटलमा दन्किएको आगो नियन्त्रणमा लिन १२ घन्टा लागेको थियो । प्रदर्शनकारीले फायर फाइटर्सलाई होटलमा जान रोकेपछि बचाउ कार्य ढिलो शुरु भएको थियो ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना सन् १९८० को दशकदेखि अवामी लीग पार्टीकी प्रमुख छिन् ।
गत जुलाईबाट त्यहाँ शुरु भएको आन्दोलनका कारण उनले गत सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छन् ।
निजामती सेवामा आरक्षण प्रणालीको विरोधमा आन्दोलन शुरु भएको थियो । तर, पछिल्ला दिनका प्रदर्शनमा भने प्रधानमन्त्रीको राजीनामा माग गरिएको थियो ।
उनले देश छाडेर गएपछि सेनाले शान्ति कायम राख्न आग्रह गरेको थियो । तर, त्यहाँ हिंसा, लुटपाट र आगजनी भइरहेको छ । बीबीसीको सहयोगमा