‘हेमबहादुर मल्ल सम्मान-२०७९’ डा. थापालाई
काठमाडौं,साउन २३ । नेपाल जनप्रशासन संघले २०७९ सालको ‘हेमबहादुर मल्ल सम्मान’ डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सौजन्यमा प्रदान गरिने दुई लाख रुपैयाँ राशिको यो सम्मान यसपटक डा. थापालाई दिने निर्णय भएको हो ।
संघ र कर्पोरेसनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएका हुन् । भोलि (बुधवार) काठमाडौंमा एक औपचारिक कार्यक्रम गरेर डा. थापालाई उक्त सम्मान प्रदान गरिने कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।
संघले कर्पोरेसनको सौजन्यमा ०६० देखि यस्तो पुरस्कार वितरण गर्दै आएको छ । सार्वजनिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेकालाई हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आइएको छ । सोही क्रममा यसपटक डा. थापालाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मधुरमण आचार्यले बताए ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. थापाले ती क्षेत्रको संस्थागत विकास र अन्तरराष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिका लागि योगदान पु¥याएका छन् । त्यसकै कदरस्वरूप उनलाई यो सम्मान प्रदान गर्न लागिएको संघको भनाइ छ ।
यो सम्मानका लागि पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । स्व. हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा बसेर काम गरेका थिए । उनी नेसनल फाइनान्स कम्पनी, सगरमाथा इन्स्योरेन्स र सुवर्ण फर्मास्युटिकल्सको अध्यक्ष पनि भएका थिए । उनको सम्झनामा यस्तो पुरस्कार प्रदान गरिँदै आइएको छ । डा. थापा यो सम्मानबाट सम्मानित हुने २०औं व्यक्ति हुनेछन् ।