खिम्ती-ढल्केबर प्रसारण लाइनको तार खस्दा औद्योगिक क्षेत्रमा विद्युत् कटौती



काठमाडौं,साउन २३ । सोमवार रातिदेखि परेको वर्षाका कारण खिम्ती-ढल्केबर लगायतका ठूला प्रसारण लाइनमा समस्या देखिँदा नेपालभित्रका औद्योगिक क्षेत्रमा विद्युत् कटौती भएको छ ।

खिम्ती-ढल्केबर प्रसारण लाइनको तार खसेपछि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा समस्या भएको हो । विद्युत् कटौतीका कारण वीरगञ्ज, दोहवी, बुटवल लगायत देशका अन्य औद्योगिक क्षेत्रहरू पनि प्रभावित भएका छन् । ‘विशेषगरी खिम्ती-ढल्केबर प्रसारण लाइनको एउटा तार खसेपछि आपूर्तिका समस्या भएको छ । हामीले आंशिकरूपमा मात्रै कटौती गरेका छौं,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले भने । घोषका अनुसार मौसममा सुधार आए आजै मर्मत गरि पूर्ण क्षमतामा प्रसारण हुने छ । 

ढल्केबर केन्द्रमा समस्या देखिँदा नेपालको भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रवक्ता घोषका अनुसार ढल्केबरलाई हब बनाएर वितरण गरिएका सबैजसो लाइनमा समस्या आएको छ । ‘ढल्केबर हब भएर दैनिक ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् प्रसारण हुने गरेकोमा सोमवार रातिदेखि ३ सयदेखि ४ सय मेगावाटसम्म मात्रै विद्युत् आपूर्ति भइरहेको छ,’ उनले आर्थिक अभियानसँग भने ।

नेपालले यस केन्द्रबाट दैनिक ६ सय मेगावाटसम्म विद्युत् निर्यात हुने गरेकोमा आज झण्डै ४ सय मेगावाट हाराहारी मात्रै विद्युत् भारततर्फ गएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्