बंगलादेशकी ‘आइरन वुमन’ हसिना: परिवार गुमाएपछि सत्तारोहण, १५ वर्षपछि पतनको यात्रा
ढाका,साउन २२ । एक पटक शेख हसिनाले बङ्गलादेशलाई सैन्य शासनबाट बचाउन मद्दत गरेकी थिइन् तर सोमबार ढाकास्थित उनको दरबारमा प्रदर्शनकारीले आक्रमण गरेपछि उनको लामो शासन अचानक अन्त्य भएको छ । उनको लगातार १५ वर्ष आर्थिक पुनर्जागरणका साथै राजनीतिक विरोधीहरूको सामूहिक गिरफ्तारी जस्ता कयौं लोकप्रिय तथा अलोकप्रिय काम गरिन्। जुलाईमा विश्वविद्यालयका विद्यार्थीहरूले निजामती सेवाको कोटाको विरोधमा र्याली निकालेर विरोध प्रदर्शन शुरू गरेका थिए तर चाँडै नै घातक अशान्तिमा परिणत भयो र उनले राजीनामा दिनुपर्ने अवस्था आयो ।
७६ वर्षीया हसिनाले गत जनवरीमा पाँचौं कार्यकालका लागि प्रधानमन्त्रीका रूपमा विजय हासिल गरेकी थिइन् तर विपक्षीले स्वतन्त्र वा निष्पक्ष नभएको भन्दै मतदान बहिस्कार गरेका थिए । आलोचकहरूले उनको सरकारमाथि विपक्षी कार्यकर्ताहरूको हत्यालगायत अधिकार हननको आरोप लगाएका छन्।
बङ्गलादेशलाई स्वतन्त्रतातर्फ डोर्याउने एक क्रान्तिकारीकी छोरी हसिनाले अमेरिकी राजनीतिज्ञ हेनरी किसिन्जरले कुनै समय ‘बास्केट केस’ भनेर लेखेको देशमा आर्थिक वृद्धिको नेतृत्व गरेकी थिइन् । उनले गत वर्ष सम्पूर्ण बंगलादेशलाई ‘समृद्ध र विकसित देश’ बनाउने वाचा गरेकी थिइन् तर करिब एक करोड ८० लाख युवा बंगलादेशी बेरोजगार छन् । सन् १९७५ मा भएको ‘कू’ मा हसिनाका पिता, प्रधानमन्त्री शेख मुजिबुर रहमान, उनकी आमा र तीन भाइको हत्या हुँदा हसिना २७ वर्षकी थिइन् ।
परिवारको हत्याको समय विदेश यात्रा गरिरहेकी थिइन् । उनी छ वर्षपछि आफ्नो बुबाको अवामी लिग पार्टीको बागडोर सम्हाल्न फर्केकी थिइन् । एक दशक लामो संघर्ष शुरू गरेकी थिइन् जसमा लामो समयसम्म नजरबन्द गरिएको थियो। हसिनाले सन् १९९० मा सैन्य तानाशाह हुसेन मोहम्मद इरशादलाई सत्ताच्युत गर्न खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सँग मिलेर काम गरेकी थिइन्। तर तिनीहरू चाँडै नै अलग भए र उनीहरूको आगामी प्रतिद्वन्द्विताले आधुनिक बङ्गलादेशी राजनीतिमा प्रभुत्व जमायो।
हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् तर त्यसको पाँच वर्षपछि जियासँग पराजित भइन् । सन् २००७ मा सेनासमर्थित सरकारले गरेको ‘कू’ पछि यी दुईलाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको थियो । यी आरोपहरूबाट हटाइएपछि उनीहरूले अर्को वर्ष चुनाव लडे का थिए जुन वर्ष हसिनाले भारी मतले जितेकी थिइन्। त्यसबेलादेखि नै उनी सत्तामा थिइन् ।
सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएकी ७८ वर्षीया जियाको स्वास्थ्य कमजोर छ र उनलाई अस्पतालमा राखिएको छ । समर्थकहरूले बंगलादेशको गार्मेन्ट निर्यात उद्योगलाई शक्ति प्रदान गर्ने मुख्यतः महिला कामदारहरूको पछाडि आर्थिक वृद्धिको नेतृत्व गरेकोमा हसिनाको प्रशंसा गर्ने गरिन्छ। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुँदा विश्वको सबैभन्दा गरिब देशमध्येको एक बंगलादेशले सन् २००९ देखि हरेक वर्ष औसत ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि दर हासिल गरेको छ ।
सन् २०२१ मा प्रतिव्यक्ति आयले भारतलाई उछिनेर १७ करोड जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा बढीमा विद्युत्को पहुँच पुगेको छ । सन् २०१६ मा पाँच जना बंगलादेशी चरमपन्थीले ढाकाको एक क्याफेमा आक्रमण गरी २२ जनाको हत्या गरेपछि मुस्लिम बाहुल्य रहेको बंगलादेशी लडाकुमाथि निर्णायक कारबाही गरेकोमा हसिनाको प्रशंसा गरिएको थियो ।
विरोधी दबाउने
तथापि, उनको सरकारको असहमतिको असहिष्णुताले घरमा आक्रोश र वासिङ्टन र अन्यत्रबाट चिन्ता लाई जन्म दियो। सन् १९७१ को नृशंस स्वतन्त्रता संग्रामका क्रममा मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि विगत एक दशकमा पाँच शीर्ष इस्लामी नेता र एक वरिष्ठ विपक्षी नेतालाई मृत्युदण्ड दिइएको छ । त्यसले व्यापक विरोध प्रदर्शन र घातक झडपहरू निम्त्यायो। उनका विरोधीहरूले यसलाई प्रहसन र प्रतिपक्षलाई दबाउन राजनीतिक रूपमा प्रेरित अभ्यासको संज्ञा दिए।
संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा बङ्गलादेशको सुरक्षा बलको एक विशिष्ट शाखा र यसका सात शीर्ष अधिकारीहरूमाथि व्यापक मानव अधिकार उल्लङ्घनको आरोपमा प्रतिबन्ध लगाएको थियो। हसीनाले आफ्नो देशका लागि काम गरेको र गत महिना भएको हिंसात्मक अशान्तिका कारण क्षतिग्रस्त ढाकाका क्षेत्रको भ्रमण गरेको भन्दै विरोध प्रदर्शन भइरहेको बताएकी थिइन्। ‘१५ वर्षमा मैले यो देश बनाएकी छु,’ उनले भनिन्। “मैले मानिसहरूका लागि के गरिनँ?” (एएफपी/ रासस)