आधा दर्जन देशमा चर्कियो आन्दोलन, बंगलादेशमा प्रधानमन्त्री सत्ताच्यूत
काठमाडौं,साउन २२ । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै प्रदर्शन भइरहेका बेला उनी सोमवार देश छाडेर भारत पुगेकी छन् ।
त्यहाँका सेना प्रमुख जनरल वाकर–उज–जमानले भने प्रधानमन्त्री हसिनाले राजीनामा दिएको बताएका छन् । साथै उनले देश चलाउनका लागि अन्तरिम सरकार गठन हुने बताएका छन् ।
अर्थात् १५ वर्षयता सत्तामा रहेकी हसिनाको बहिर्गमन भएको छ । उनको बहिर्गमन आजको आजै भएको भने होइन, एक महीनायता त्यहाँ चलिरहेको आन्दोलनले उनलाई ‘पदच्यूत’ गराएको हो ।
निजामती सेवामा आरक्षण प्रणालीको विरोधमा गत जुलाईबाट देशभर विद्यार्थी आन्दोलन शुरु भएको थियो । उक्त आन्दोलनअन्तर्गत शुरुका दिनमा भएका प्रदर्शनमा निजामती सेवामा कोटा प्रणालीको विरोध गरिए पनि पछिल्ला दिनमा भने प्रधानमन्त्री हसिनाको राजीनामा माग गरिएको थियो । त्यसकै दबाब थेग्न नसकेर प्रधानमन्त्री हसिना देश छाडेर भागेकी हुन् ।
बंगलादेशमा पछिल्लो आन्दोलन निजामती सेवामा आरक्षण प्रणालीको विरोधको भनिए पनि यसको उद्देश्य हसिनाको सरकार ढलाउनु रहेको कतिपय विश्लेषकको दाबी छ ।
बंगलादेशमा प्रधानमन्त्री हसिनाको शासनशैलीप्रति जनतामा तीव्र असन्तुष्टि थियो । पछिल्लो पटक उनमा तानाशाह प्रवृत्ति पनि देखिएको थियो । यसकै उदाहरण हो– पछिल्लो आमचुनाव । उनले चुनावमा प्रतिपक्षीलाई प्रतिबन्ध लगाएर ‘सत्ता कब्जा’ गरेकी थिइन् ।
त्यति मात्रै होइन, बंगलादेशमा पछिल्लो पटक बेरोजगारी बढ्दो क्रममा थियो । युवा जनशक्ति बेरोजगार भएपछि उनीहरूमा सरकारप्रति चरम असन्तुष्टि थियो ।
प्रधानमन्त्री हसिनाले देश छाड्नुभन्दा केही घण्टाअघि बीबीसीमा प्रकाशित समाचारमा लण्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ प्रोफेसर लुत्फी सिद्दिकीले बंगलादेशमा सत्ता परिवर्तन आर्थिक अपरिहार्यता रहेको बताएका थिए । ‘शेख हसिनाको सरकारले शासन गर्ने अधिकार र शक्ति दुवै गुमाइसकेको देखिन्छ । चाँडै नै यसका लागि स्रोत साधन पनि समाप्त हुनेछ,’ सिद्दिकीले बीबीसीसँग भनेका थिए, ‘बंगलादेश आर्थिक संकटको संघारमा छ ।’
बीबीसीका अनुसार बंगलादेशमा १५–२४ वर्ष उमेर समूहका ४० प्रतिशतभन्दा बढी नागरिक न रोजगारी पाएका छन् न त शिक्षा नै । सिद्दिकीका अनुसार बंगलादेशमा भएको आन्दोलनको नेतृत्वमा धेरैजसो युवा नै थिए ।
‘यसले लगातार भएको मुद्रास्फीति र अन्य आर्थिक संकटसँग मिलेर एक आर्थिक ‘टिन्डरबक्स’ बनाएको छ, जो केवल झिल्कोको पर्खाइमा थियो,’ उनले भनेका थिए ।
सिद्दिकीले भनेजस्तै बंगलादेशमा त्यही आर्थिक ‘टिन्डरबक्स’ले झिल्को पायो । र, आन्दोलन चर्कियो । उक्त आन्दोलनमा हिंसा मच्चिएपछि अहिलेसम्म ३०० जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
बंगलादेशमा मात्रै होइन, पछिल्लो समय विश्वका आधा दर्जनभन्दा बढी देशमा आन्दोलन चर्किएको छ । तीमध्ये केही देशमा आर्थिक समस्याले आन्दोलन चर्केको हो, जसमा अफ्रिकी देश नाइजेरियादेखि केन्यासम्म छन् । दक्षिण अमेरिकी भेनेजुएला र युरोपको बेलायतमा पनि आन्दोलन चलेको छ । तर, ती देशमा अन्य कारणले आन्दोलन भएको देखिन्छ ।
नाइजेरियामा जीवनयापन महँगिएको भन्दै प्रदर्शन
अफ्रिकी देश नाइजेरियामा जीवनयापन महँगिएको भन्दै भएको प्रदर्शनमा हिंसा भएको छ । गत बिहीवारयता भएको प्रदर्शनमा हिंसामा परी त्यहाँ सात जनाको मृत्यु भइसकेको छ ।
एम्नेस्टी इन्टरनेसनलले देशभर मारिनेको संख्या १३ पुगेको जनाएको छ । एम्नेस्टीले आइतवार कानोका गभर्नरलाई कम्तीमा १० जना प्रदर्शनकारीको हत्याको छानबिनका लागि एक स्वतन्त्र न्यायिक जाँच आयोग गठन गर्न’ आग्रह गरेको छ ।
तीन दिनसम्म चलेको प्रदर्शनका क्रममा त्यहाँ ७०० जनाभन्दा बढी पक्राउ परेका छन् ।
गत बिहीवार राष्ट्रव्यापी र्यालीमा प्रदर्शनकारीले ‘हामी भोकाएका छौं’ जस्ता नारा लगाएका थिए । प्रदर्शनका क्रममा प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो । केही ठाउँमा लुटपाट पनि भएको थियो ।
राष्ट्रपतिद्वारा घातक प्रदर्शन अन्त्य गर्न माग
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले प्रदर्शनका क्रममा ‘रक्तपात’ भएपछि प्रदर्शन अन्त्य गर्न अपिल गरेका छन् । उनले गत आइतवार सम्बोधनका क्रममा आफ्नो आर्थिक सुधारको बचाउ गरेका थिए ।
साथै उनले देश टुक्र्याउने उद्देश्यले प्रदर्शन भइरहेको दाबी गरेका थिए । ‘हाम्रो सरकार चुप लागेर बस्ने छैन र स्पष्ट राजनीतिक एजेन्डा बोकेका केही व्यक्तिलाई यो देशलाई टुक्र्याउने अनुमति दिने छैन,’ ७२ वर्षीय राष्ट्रपतिले सम्बोधनमा भनेका थिए ।
गत शुक्रबार र शनिबार कानो शहरको उपनगरमा भेला भएका केही मानिसहरूले रूसी झण्डा फहराएको र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मद्दतको लागि पुकारेको भिडियो खिचेका थिए ।
केन्यामा कर वृद्धिको विरोधमा अघिल्लो महिना भएको थियो आन्दोलन
केन्यामा कर वृद्धि गर्ने वित्त विधेयकको विरोधमा गत महिना प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा २३ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।
केन्याका सांसदहरूले थप २७ करोड डलर जुटाउन कर वृद्धिको पक्षमा मतदान गरेपछि आक्रोशित नागरिकले संसद घेरा हालेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो ।
बेलायतमा दंगा
विश्वका ठूला अर्थतन्त्रमध्येको एक बेलायतमा दंगा भड्किएको छ । तीन युवतीमाथि छुरा प्रहारपछि त्यहाँ दंगा फैलिएको हो ।
प्रदर्शनकारीहरूले आइतवार उत्तरी इङ्ल्यान्डमा शरण खोज्नेहरूलाई आश्रय दिन प्रयोग गरिने होटलहरूमा आगजनीका साथै तोडफोड गरेका छन् ।
सीएनएनले सार्वजनिक गरेको फुटेजमा प्रदर्शनकारीले आइतबार उत्तरी इङ्ल्यान्डका दुई होलिडे इन्समा तोडफोड र आगजनी गरेको देखिन्छ ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले शनिवार रातिदेखि कम्तीमा १४७ जनालाई पक्राउ गरिएको जनाएका छन् । उनले दंगा नियन्त्रणका लागि आपतकालीन बैठकसमेत बोलाएका छन् ।
भेनेजुएलामा राष्ट्रपति मतपरिणामविरुद्ध प्रदर्शन
भेनेजुएलामा भएको राष्ट्रपति निर्वाचनमा धाँधलीको आरोप लगाउँदै शनिवार ¥याली निकालिएको छ । राजधानी भेनेजुएलामा शनिवार हजारौं मानिसले विपक्षी नेताको समर्थनमा राष्ट्रिय गान गाउँदै र्याली निकालेका थिए ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेका छन् भने विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेजले ४६ प्रतिशत मत प्राप्त गरेका छन् ।
शनिवार काराकासको र्यालीमा माचाडो आइपुग्दा समर्थकहरूले नाराबाजी र गीत गाएका थिए । काराकासबाहेक भ्यालेन्सिया, माराकाइबो र सान क्रिस्टोबललगायतका सहरमा पनि प्रदर्शन भएका थिए । एजेन्सीको सहयोगमा