चार करोडको लगानीमा मेवा खेती



रामेछाप,साउन २१ । रामेछापको खाँडादेवी गाउँपालिका–८, गागलभदौरेस्थित कालेमानेका जनकलाल तामाङ मेवाको व्यावसायिक खेतीमा लागेका छन् । सात वर्षपछि दक्षिण कोरियाको रोजगारीबाट फर्केर मेवा खेतीमा लागेका हुन् । कोरियामा महिनाको साढे दुई लाख रुपियाँसम्म कमाउने उहाँ कोभिडका कारण नेपाल फर्केपछि भिसा नै रद्द भएको थियो । 

बेरोजगार भएपछि उनले खोजे जस्तो रोजगारी कतै पाउनुभएन । त्यसपछि उनले आफूसँग भएको केही रकम लगानी गरेर मेवा खेती सुरु गरेका थिए। 

उनले अहिले २० जनाको टिएमजी एग्रो कृषक समूह बनाएर आफ्नो जिल्लामा मात्रै होइन अन्य जिल्लामा पनि मेवाको व्यावसायिक खेती विस्तार गरेका थिए। यो अवधिमा उनले हालसम्म चार करोड रुपियाँभन्दा बढी रकम लगानी गरिसकेका छन् । 

उनले भने, “मेवाको व्यावसायिक खेती सुरु गरेको चार वर्षभन्दा बढी समय भयो । अहिलेसम्म मेवा खेतीको विस्तारमै छौँ । अहिले कृषक समूहमार्फत सिन्धुली, काभ्रे, उदयपुर र दाङ जिल्लामा केही जग्गामा मेवा खेती विस्तार भएको छ । यी जिल्लामा यो वर्ष १० हजारभन्दा बढी मेवाको बोट लगाइएको छ ।” उनका अनुसार यो वर्ष काभ्रेको पाँचखालमा २० रोपनी, उदयपुरको कटारीमा २५ रोपनी र दाङमा पनि २० रोपनी जमिनमा मेवाको बिरुवा लगाइएको छ । अहिले मेवालाई प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मेवाको जुस पु¥याउने लक्ष्य अनुसार समूहले काम गरिरहेको उनले बताए । 

कालेमानेमा समूहको ३५ रोपनीभन्दा बढी जमिनमा सात हजार पाँच सय मेवाका बोट छन् । यो वर्ष ४५ रोपनीमा नयाँ बिरुवा लगाइएको छ । दुई वर्षसम्म उत्पादन दिने एउटा मेवाको बोटले एक पटकमा ९० किलोसम्म उत्पादन दिने गरेको तामाङले बताए । 

मेवाको जुस प्रशोधन केन्द्र 

खाँडादेवी गाउँपालिका–८, गागलभदौरेमा मेवाको जुस उत्पादनका लागि प्रशोधन केन्द्र निर्माण सुरु भएको छ । टिएमजी एग्रो कृषक समूहले साढे तीन वर्षदेखि व्यावसायिक मेवा खेती गरिरहेको छ । 

योसहित यहाँका स्थानीयले पनि मेवा खेती गर्न थालेका छन् । अहिले एग्रो कृषक समूहको ५० प्रतिशत र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना धनकुटाको ५० प्रतिशत गरी एक करोड चार लाख ८१ हजार ३७५ रुपियाँको लागत साझेदारीमा जुस प्रशोधन केन्द्र बनाउने काम भइरहेको कृषक समूहका सचिव अजय तामाङले बताए । 

प्रतिक्रिया दिनुहोस्