बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
बाँके,साउन २० । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८०–०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको हो ।
जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आर्थिक वर्षमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले बताए ।
सूचना अधिकारी रोकाका अनुसार ८९ सामुदायिक वन, एउटा राष्ट्रिय वन (चक्ला वन) र निजी आवादी वनमा गरी उक्त मात्रामा काठ उत्पादन भएको हो । २४ वटा संवर्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ९४ हजार ११० दशमलव ११ क्यु फिट, ६५ वटा संवर्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ६३ हजार ७४ दशमलव ९९ क्यु फिट र एउटा संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन (शमसेरगन्ज माथेवास चक्ला वन)बाट ७१ हजार १११ दशमलव ०१ क्यु फिट काठ उत्पादन भएको उनले जानकारी दिए ।