विद्युत प्राधिकरणका दुई सञ्चालक पद मुक्त
काठमाडौं,साउन २१ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्त बहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेको छ । नेकपा माओवादी केन्द्रको र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।
यस अघि ७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो । सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले भने फरक मत (नोट अफ डिसेन्ट) लेखेका थिए ।
यसैबीच नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्रीस्तरको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका– २ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका –७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो ।