गोरखा पालुङटारको दुई वडाबाट १५ करोडको लिची बिक्री
गोरखा,साउन २० । गोरखाको पालुङटार नगरपालिकामा यस वर्ष लिची बिक्रीबाट १५ करोड रुपियाँको कारोबार भएको छ। यस वर्ष गत वर्ष भन्दा पनि बढी लिची उत्पादन भएको छ। गत साल लिची उत्पादनबाट ७ र ८ नम्बर वडामा १२ करोड रुपियाँ आम्दानी भएको थियो। यो वर्ष बढेर १५ करोड रुपियाँको कारोबार भएको पालुङटार नगरपालिकाका ७ का वडा अध्यक्ष अर्जुन कुमालले जानकारी दिए ।
उनका अनुसार गोरखामा लिची तीन हजार रोपनी क्षेत्रफल जमिनमा लगाउने गरिएको छ। जसमा गत वर्ष १२ करोडको लिची उत्पादन भएकोमा यस वर्ष बढेर १५ करोडको लिची उत्पादन भएको वडा अध्यक्ष कुमालले बताए ।
जिल्लाको सबै भन्दा बढी लिची उत्पादन हुने ठाउँ पालुङटार नगरपालिकाको ७ र ८ नम्बर वडा रहेकाले अधिकांश वडावासी लिची खेतीमा आश्रित हुने गरेका छन्। यस क्षेत्र लिचीको पकेट क्षेत्र भएकाले पनि वडा न ७ बाट मात्रै झण्डै १० करोड र वडा नम्बर ८ बाट ५ करोड रुपियाँको लिची बिक्री भएको पालुङटार नगरपालिकाले जनाएको छ।
कम लगानीमा धेरै आम्दानी भएपछि ७ र ८ वडाको अधिकांश ९० प्रतिशत किसान लिचीमा आश्रित रहेका छन्। पालुङटार नगरपालिका लिची उत्पादन गर्न सबै भन्दा उपयुक्त ठाउँ भएकाले पनि लिचीतर्फ किसानको ध्यान गएको पालुङटार नगरपालिकाका कृषि शाखाका कृषि स्नातक प्राविधिक कर्मचारी शर्मिला ढकाल बताए ।