दिगो विकासको लक्ष्य पूरा गराउन तारकेश्वर नगरपालिकामा चीनको सहयोग !
काठमाडौं,साउन २०। दिगो विकास लक्ष्य पूरा गराउन काठमाडौंको तारकेश्वर नगरपालिकालाई सहायता हस्तान्तरण गरिएको छ । नेपालस्थित चिनियाँ दूतावास र चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टले तारेकेश्वरमा एक कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाल र चीनबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ६९औं वर्ष पूरा भएको दिनमा आयोजित कार्यक्रममा खानेपानी, शिक्षा, बालबालिकाको पोषण र कृषि प्रवर्द्धनका लागि विभिन्न सामाग्री स्थानीय समुदायलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बेमौसमी तरकारी खेतीको तालिम लिएका ७० जनालाई प्रमाणपत्र वितरण गरिएको थियो भने स्माइलिङ चिल्ड्रेन कार्यक्रमका लागि विद्यालयको भान्साका सामाग्री वितरण गरिएको थियो ।
दिगो विकास लक्ष्य पूरा गराउन तारकेश्वर नगरलाई नमूनाको रूपमा छनोट गरी एकीकृत विकासका कार्यक्रम अघि बढाएको आयोजकले जानकारी दिए ।
चिनियाँ दूतावास र चाइना फाउण्डेशनले सो क्षेत्रको विकासका लागि रु १० करोडभन्दा बढी लगानी गरेको जनाएका छन् ।
कार्यक्रममा चिनियाँ राजदूत सङले नेपालको विकासका लागि चाइना फाउण्डेशनले गरेको सहयोगको प्रशंसा गरे । उनले कृषि क्षेत्रको विकासमा उक्त कार्यक्रमले महत्त्वपूर्ण योगदान गरेको बताए ।