डोटीमा जंगली बँदेल शिकार गर्न गएको समूहका एकजनाको गोली लागेर मृत्यु



काठमाडौं,साउन २० । डोटीमा जंगली बँदेलको शिकार गर्न गएको समूहका एक जनाको गोली लागेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार शुकवार बिहान करीब ११ बजे घोत्नेगडा सामुदायिक वनमा जंगली बँदेलको शिकार खेल्ने क्रममा गोली लागेर पूर्वीचौकी गाउँपालिका–६, गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

बँदेल शिकार गर्न जाने समूहमा कति जना थिए भन्नेबारे प्रहरी उपरीक्षक कोइरालाले खुलाउन चाहेनन् । घटनास्थल आसपासका एक स्थानीयले भने १०–१२ जनाको टोली शिकार गर्न गएको बताएका छन् । 

प्रहरीले शिकार खेल्ने समूहका दुईजनालाई भरुवा बन्दुकसहित प्रक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दिपायल सिलगढी नगरपालिका–८ का ३३ वर्षीय राम बहादुर साउँद र ४२ वर्षीय दिल्ली बहादुर साउँद रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको प्रहरीले जनाएको छ । 

थापालाई गोली कसरी लाग्यो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी उपरीक्षक कोइरालाले बताए । 

प्रतिक्रिया दिनुहोस्