नुवाकोटको शिवपुरीमा रहेको लौके झरनामा नवआगन्तुकको भीड
नुवाकोट,साउन १९ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको लौके झरनामा नव आगन्तुकको भीड लागेको छ ।
शनिबार राजधानी काठमाडौ, सदरमुकाम विदुर र आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकको घुइँचो लागेको हो।
विदाको समय राजधानी काठमाडौदेखि सयौं युवायुवती झरनामा रुझ्न यहाँसम्म आइपुगेका छन् । काठमाडौको रातोपुलबाट झरनासम्म पुगेकी शुभेच्छा रावतले भनिन् – ‘लामो समयसम्म यहाँसम्म आउने धोको पूरा भयो। तर गन्तव्यसम्म पुग्न आवश्यक सूचना बोर्ड र नक्सांकन नहुदा धेरै ठाँउमा सोध्दै हिड्नु परेको थियोे ।’
शहरी क्षेत्रमा रहेका मानिस व्यस्तता र धुवाँ धुलोको उकुसमुकुस मेटाउन प्राकृतिक गन्तव्यस्थलको खोजी गरिरहेका बेला स्थानीय सरकारले सडक पूर्वाधार विकास गरेसंगै झरनामा माहोल जम्न थालेको हो ।
काठमाडौँ–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौँ–विदुर र अन्य स्थानबाट यस झरनामा पुग्न सहयोग मिलेको छ । यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने गाउँपालिकाले अपेक्षा राखेको छ ।
वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान भने पछिल्लो समय उजागर भएको छ । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ ।
सवारीसाधन पार्किङमा समस्या
झरना क्षेत्रमा नवनिर्मित पदमार्ग र विश्रामस्थलको व्यवस्थापन गरिएतापनि पार्किङको भने समस्या देखिएको छ । शनिबार सयौंको संख्यामा पुगेका मोटरसाइकल तथा अन्य सवारीसाधन पार्किङमा समस्या देखिएको हो ।
काठमाडौँबाट माथिल्लो ढोडिनीसम्मको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ । चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसके पनि सवारी पार्किङ, शौचालय, खाजा नास्ता र आरामका लागि पर्याप्त होटलको ब्यवस्थापन हुनुपर्ने यात्रुहरुले गुनासो गरेका छन् ।