बंगलादेश आन्दोलन : पक्राउ परेका विद्यार्थी नेता रिहा



ढाका (बंगलादेश),साउन १८ । बंगलालदेशमा निजामती सेवामा आरक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीवार (आज) रिहा गरेको छ । 

डेपुटी कमिश्नर जुनैद आलम सरकारले भने, ‘आरक्षण प्रणालीविरूद्धको आन्दोलनका सबै (६ जना) संयोजकलाई आज दिउँसो उनीहरूको परिवारको जिम्मा लगाइएको छ । 

रिहा हुनेमध्येका एक जना विद्यार्थी नेताका बुबा बदरुल इस्लामले एएफपीसँग कुराकानीमा आफ्नो छोरा बिहीवार दिउँसो घर फर्केको पुष्टि गरे । तर, उनले थप विवरण दिन अस्वीकार गरे ।  

प्रमुख नेता नाहिद इस्लाम र अन्य दुई जनालाई गत शुक्रवार राजधानी ढाकाको एक अस्पतालबाट सादा पोसाकका गुप्तचरहरूले जबर्जस्ती डिस्चार्ज गरी अज्ञात स्थानमा लगेका थिए । त्यसपछि अन्य तीन जनालाई हिरासतमा लिइएको थियो । 

न्यायमन्त्री अनिसुल हकले बिहीवार एएफपीसँगको कुराकानीमा ती ६ जनाले स्वेच्छाले प्रहरी हिरासतमा बस्न चाहेको बताएका छन् । ‘उहाँहरू स्वेच्छाले आउनुभएको थियो । उहाँहरू स्वयंले आफू घर जान चाहेको बताएपछि उहाँहरूलाई घर फर्कन अनुमति दिइएको छ ।’ 

तर, विद्यार्थीले सरकारको उक्त कदमको विरोध गरेका छन् । ‘उनीहरूलाई हिरासतमा राख्नु स्वेच्छाचारी र गैरकानुनी थियो,’ ओस्लो विश्वविद्यालयका अनुसन्धाता मुबशर हसनले एएफपीसँग भने, ‘राष्ट्रिय र अन्तरराष्ट्रिय आलोचना बढिरहेको छ ।’ 

सरकारले नेताहरू रिहा गरी ‘तनाव कम गर्न’ खोजिरहेको सङ्केत गरेको उनले बताए । 

सबै सरकारी जागिरको आधाभन्दा बढी हिस्सा निश्चित समूहका लागि आरक्षित गर्ने कोटा पुनः लागू गरिएको विरोधमा गत महिना बंगलादेशमा प्रदर्शनहरू भएका थिए ।

आन्दोलन चर्किएपछि सरकारले सेना तैनाथ गरेर कर्फ्यु लगाएको थियो । आन्दोलनका क्रममा देशभरि ११ दिनसम्म मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको थियो ।

उक्त आन्दोलनका कारण कम्तीमा २०६ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । एएफपीले उक्त तथ्यांक प्रहरी र अस्पतालबाट पुष्टि गरेको बताएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अशान्तिका कारण १० हजारभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।

अब के होला आन्दोलन ?

प्रहरी हिरासतमा राखिएका विद्यार्थी नेतालाई रिहाइ नगरिएपछि विद्यार्थीहरूले बंगलादेशका केही शहरमा फेरि प्रदर्शन गरेका थिए । 

सरकारले हिरासतमा राखेका विद्यार्थी नेतालाई रिहा गर्ने भनिएको समयसीमा कटाएको भन्दै उनीहरूले आफ्नो अभियान पुनः शुरु गर्ने प्रतिबद्धता जनाएका थिए । सरकारले हिरासतमा राखेका विद्यार्थी नेतालाई गत सोमवारसम्म रिहा गर्ने बताएको थियो । 

ती नेताहरू आज रिहा भएकाले अब आन्दोलन जारी रहन्छ वा स्थगित हुन्छ भन्नेबारे विद्यार्थी समूहको छलफलले निर्क्यौल गर्नेछ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्