लागूऔषध मुद्दामा पक्राउ परेका कैदीको मृत्यु
झापा,साउन १७ । झापामा लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका–७ पालिया टोल बस्ने २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो ।
यही साउन १३ गते मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट खड्काको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित खड्कालाई नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बरामद खैरो हेरोइनसहित खड्कालाई कारबाहीका लागि लागूऔषध मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थियो ।
यद्यपि, बुधबार बिहान १ः४० बजेको समयमा स्वास्थ्य समस्या देखिएपछि खड्कालाई तत्काल आम्दा अस्पताल धुलाबारी झापा लगिएको थियो । खड्काको उपचारकै क्रममा १ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा थप आवश्यक कानुनी प्रक्रिया भइरहेको जनाइएको छ ।