दमौली सबस्टेशन निर्माण : भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङसँग सम्झौता
काठमाडौं,साउन १७ । मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको एमसीए-नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ ।
यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनओटै ४०० केभी सबस्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको एमसीए-नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो आयोजना निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेशनजस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेशनमध्ये एउटा बन्ने एमसीए-नेपालले जनाएको छ । सोही कम्पनीसँग २०८१ जेठमा रातमाटे सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने बताइएको छ ।