नुवाकोटको भद्रुटारमा बाढी र पहिरोको वितण्डा, सयौँ रोपनी धानखेत नष्ट



नुवाकोट,साउन १७ । अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले वितण्डा मच्चाएको छ ।

मंगलबार राति वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक दर्जनभन्दा बढी किसानको खेतमा हालसालै लगाइएको धान खेती नष्ट भएको छ भने घरपरिवार पहिरोको जोखिममा परेका छन् ।

खोलाले खेतीयोग्य जमिन कटान गर्नुका साथै आसपासका घर जोखिममा परेको स्थानीय पुरुषोत्तम सिटौलाले जानकारी दिए। उनले भने, “निरन्तरको वर्षासँगै आएको बाढीका कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । यहाँको कैयौँ खेतीयोग्य जमिनमा कटानमा परेको छ भने केही दिनअघि रोपाइँ सम्पन्न गरेको धान खेत बगरमा परिणत भएको छ ।”

उनका साथै  स्थानीय मिलन तामाङ, रामहरि खतिवडा, एकप्रसाद खतिवडा, पुरुषोत्तम खतिवडा, गायत्री खतिवडा, बद्री खतिवडा, कुलबहादुर तामाङ, गोकर्ण पौडेललगायतका किसानको खेत पहिरो र कटानको जोखिममा परेका छन् । उनीहरू खेतमा बाढी पसेको छ भने घर वरपरको जमिन भासिएका छन । त्यस्तै चुहानडाडाका पशुपति पाठकको बिउरिनीमा रहेको १० रोपनी जग्गामा लगाइएको धान खेती पहिरोले पुरिदिएको छ ।

बाढी र पहिराले निम्त्याएको जोखिम र क्षतिबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएको किसानहरुले बताएका छन् । वडाध्यक्ष माधब सिटौलाले प्रभावित क्षेत्रको अवलोकन गरेको र क्षतिबारे लेखाजोखा भैरहेको बताएका छन् ।

बस्तीमाथि हिउँदमा अन्धाधुन्ध ‘डोजर’ प्रयोग गरेर सडक खन्ने र राम्रोसँग तारजाली नबनाउने गरेकाले बाढी पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्