दशैंतिहारमा चिनी अभाव हुने त होइन ?
काठमाडौं,साउन १७ । सरकारले यस वर्षको दशैं र तिहारलाई लक्षित गरेर भारतबाट चिनी ल्याउने प्रक्रिया अघि नबढाउँदा त्यसबेला चिनीको मूल्य आकाशिने सम्भावना बढेको छ ।
मुलत: निजीक्षेत्रले बजारमा चिनी आपूर्ति गर्ने भए पनि सरकारले गर्ने सीमित आपूर्तिले बजारमा मूल्य बढ्न नदिने भूमिका खेल्छ । अहिले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाइरहेको र स्वदेशी उत्पादन घटेकाले मूल्य वृद्धिको सम्भावना बढेको हो । भारतले सन् २०२२ को जुनमा चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध अझै कायम छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार दशैं र तिहारमा मात्रै कर्पोरेशनमा करीब ३० देखि ३५ हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । यद्यपि, अहिले साल्ट ट्रडिङसँग करीब २२ सय मेट्रिक टन मात्रै चिनी मौज्दात छ । उक्त चिनी कर्पोरेशनले स्थानीय व्यापारीसँग खरीद गरेको हो ।
गतवर्ष चाडपर्वमा आवश्यक पर्ने चिनी आयातका लागि सरकारले बेलैमा प्रक्रिया शुरू नगर्दा साल्ट टे्रडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी ल्याउनै सकेनन् । फलस्वरूप गतवर्ष दशैं र तिहारमा उपभोक्ताले एक किलो चिनीको लागि १३० रुपैयाँसम्म तिर्दा पनि घण्टौं लाइन बस्नुपर्ने बाध्यता आइलाग्यो ।
यस वर्ष पनि सरकारको तयारी हेर्दा सोही अवस्था दोहोरिन सक्ने संकेत देखिएको छ । साल्ट ट्रेडिङ र खाद्यले चाडपर्वलाई लक्षित गर्दै गत वैशाखमै २०/२० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएका थिए ।
- देशभित्र उखु र चिनी उत्पादन दुवै घट्दो
- चिनी निर्यातमा भारतको प्रतिबन्ध कायमै
- गत साल भारतले नेपालको लागि निश्चित कोटा दियो
- आयातको लागि सरकारी पहल शुरु भएन
मन्त्रालयले बजेट स्वीकृतिका लागि भन्दै अर्थ मन्त्रालयमा पठाएको पत्रको जवाफ अहिलेसम्म पनि नआएको उद्योग, वाणिज्य तथा आपूर्तिका सहसचिव चण्डीप्रसाद घिमिरेले बताए । उनका अनुसार गतवर्ष साल्ट टे्रडिङ र खाद्य कम्पनीले चिनी आयातको अनुमति पाएर पनि आयात गर्न नसकेको परिमाणको १९ हजार मेट्रिक टन चिनी भारतबाट आयातका लागि अहिले १० ओटा उद्योगले अनुमति पाएका छन् । ती उद्योगले चिनी ल्याइसकेपछि मात्रै थप चिनी दिन सकिने भनी भारतले भनेकाले साल्ट ट्रेडिङ र खाद्यले थप चिनी ल्याउने अनुमति कहिले पाउँछन् भन्ने निश्चित नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । गत साल भारतले नेपालका लागि २५ हजार मेट्रिक टनको कोटा दिएको थियो । तर, त्यो कोटाको उपयोग नेपालले समयमै गर्न सकेन ।
साल्ट ट्रेडिङ र खाद्य कम्पनीले २०/२० हजार मेट्रिक टन ल्याउन अनुरोध गरे पनि भारतले कति दिन्छ निश्चित नभएको घिमिरेले बताए । ‘अहिले यी दुवै कम्पनीसँग पर्याप्त चिनी छैन । हामीले गतवर्षको कोटाकै चिनी अहिलेसम्म पनि ल्याउन सकेका छौनौं । यस्तो अवस्थामा भारतले हामीलाई नयाँ कोटा दिँदैन,’ उनले भने, ‘त्यसैले अर्थ मन्त्रालयबाट तुरुन्तै स्वीकृति आए पनि त्यसका लागि हामीले पहिल्यै बाँकी रहेको १९ हजार मेट्रिक टन चिनी आयात गर्नुपर्ने हुन्छ । यी कम्पनीहरूले चिनी आपूर्तिकर्ताका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने भएकाले समय लाग्ने र दशैंअघि थप चिनी आउन चुनौतीपूर्ण हुने सरकारी अधिकारीहरू बताउँछन् ।
देशभित्र भने पछिल्ला वर्षमा उखुको उत्पादन घट्दै जाँदा चिनी उत्पादन पनि घटेको देखिन्छ । यसले गर्दा चिनीमा भारतसँगको निर्भरता बढ्दो छ ।
मन्त्रालयको तथ्यांकअनुसार गतवर्ष नेपालमा १ लाख ६५ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा यस वर्ष करीब १ लाख ८० मेट्रिक टन उत्पादन भएको छ । २०७० सालसम्म नेपालमा करीब २ लाख मेट्रिक टन चिनी उत्पादन हुने गथ्र्यो । स्वदेशमा वार्षिक चिनी खपत २ लाख ५० हजार मेट्रिक टनसम्म छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा नेपालमा उखु उत्पादन हुने क्षेत्रफल १५ सय २१ हेक्टरले घटेको छ । उत्पादन पनि ५३ हजार ८३४ मेट्रिक टनले घटेको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा ६४ हजार ३५४ हेक्टर क्षेत्रफलमा उखुखेती भएकोमा आव २०७९/८० मा आइपुग्दा उत्पादन हुने क्षेत्रफल घटेर ६२ हजार ८३३ हेक्टर कायम भएको छ ।
उक्त अवधिमा उखु उत्पादन ३१ लाख ८३ हजार ९४३ मेट्रिक टनबाट ३१ लाख ३० हजार १०९ टनमा झरेको छ । तर, गत आवको पहिलो ६ महीनामा १९ लाख मेट्रिक टन उखु उत्पादन भएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
देशभित्र उखु र चिनी उत्पादन दुवै घटेको सन्दर्भमा भारतप्रति नेपालको निर्भरता थप बढेको हो । यस्तो अवस्थामा भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध फिर्ता नलिएकाले पनि आगामी दशैं, तिहारमा चिनीको भाउ बढ्ने सम्भावना उच्च छ ।
गतवर्षको जस्तै यस वर्ष पनि चाडपर्वका समयमा उपभोक्ताले महँगो मूल्यमा चिनी किन्न नपरोस् भनेर बेलैमा चिनीको व्यवस्थापन गर्न खोजे पनि अर्थले स्वीकृति दिन ढिलाइ गरेपछि समस्या भइरहेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारी बताउँछन् ।
चाडपर्वका समयमा चिनीमा हुने कालोबजारी र महँगी नियन्त्रण गर्न सरकारले साल्ट ट्रेडिङ र खाद्य कम्पनीमार्फत सर्वसाधारणलाई सहुलियत दरमा चिनी विक्री गर्ने गरेको छ ।
भण्डारीका अनुसार तत्कालै चिनी आयातको प्रक्रिया शुरू नभए दशैं र तिहारमा उपभोक्ताले सहुलियतको चिनी उपभोग गर्न नपाउने अवस्था रहन्छ । यस्तो हुँदा बजारमा महँगी बढ्न थाल्छ । ग्लोबल टेन्डर गरेर चिनी आयात हुन करीब ३ महीना लाग्छ । दशैं आउन साढे २ महीना मात्र बाँकी छ । यस हिसाबले दशैंसम्म भन्सार छूटको चिनी आउने सम्भावना देखिएको छैन ।
सहुलियतको चिनी समयमै किन्न सकिएन भने गतवर्षकै अवस्था दोहोरिन सक्ने खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् । उनका अनुसार अहिले बजारमा प्रतिकिलो चिनीको मूल्य ११० रुपैयाँ छ । सरकारसँग चिनी नहुने हो भने त्यसबेला ठूला व्यापारी र बिचौलियाले चलखेल गर्न सक्छन्, जसले गर्दा बजारमा मूल्य अनियन्त्रित हुने, कालोबजारी बढ्न सक्ने र अभाव हुन सक्ने उनले अनुमान गरे ।