चलचित्र छाडेर चिया साहुजी बनेका रसुवाका सोनाम घले
- सरस्वती न्यौपाने
रसुवा,साउन १६ । धेरै वर्ष नेपालको चलचित्र क्षेत्रमा काम गरेका रसुवाका सोनाम घले केही वर्षदेखि गाउँको चिया पसले बनेका छन् । फिल्ममा काम गर्दा गर्दै बिरामी परेपछि आफ्नै गाउँ फर्केर चिया व्यापार गरिरहेका सोनामको पुराना नायक/नायिका, खलनायकसँग राम्रो उठबस छ ।
जिल्ला सदरमुकाम धुन्चेमा बुबा सेते लामा र आमा नम्बरी घलेका कोखबाट ४५ वर्षअघि जन्मेका सोनामले घरबाट कामका सिलसिलामा राजधानी काठमाडौं पुगेका बखत फिल्मको सुटिङ हेर्न जाँदा त्यहीँ काम गर्न थाले । उनले लेखपढ नगरेकाले फिल्म क्षेत्रमा राम्रो काम पाएनन्, फिल्म खेल्न पनि पाएनन् । उनले भने, ‘‘पढेको भए त अधिकृतस्तरसम्मको जागिरे हुन्थेंँ, त्यस जमानामा भनसुनले जागिर मिल्थ्यो । अहिले रिटायर पनि हुन्थेंँ हुँला । गाउँमै शिक्षक बन्थेंँ कि । के गर्नु, पढिन, अहिले चिया बेचेर निर्वाह गर्दैछु । रोगी भएकै कारण श्रीमतीले छाडिन् । आफन्तले पनि टाढा राखे, उमेर र कमाउने उमेर हुँदा सबैले सक्दो सहयोग गरे तर आज आफूलाई पर्दा कोही हँुदो रहेन छ ।’’ अहिले उनले भाइका घरमा चिया पसल सञ्चालन गरिरहेका छन् । “यो व्यापार पनि एक प्रकारको रमाइलो हुन गयो । मेरा लागि सबैले राम्रो काम गरेका छन् । सोनाम दाइ, चिया खाऊँ न भन्छन्, हौसला दिन्छन् । एक दिन नदेखे तपाईं नभएर चिया खान पाइएन भन्छन् । यसैमा खुसी छु ”, उनले भने ।
बिहान चिया, पाउरोटी र दिउँसो चना, अन्डा बनाउने तथा बेलुका चिया बेचेर हिँड्ने उनको दिनचर्या नै बनेको छ । सानैमा आमा बितेपछि उनको निराशाजनक दिन सुरु भएको थियो । घरमा बस्न मन नलागेर घर छाडेर हिंँडेको, पढ्न नपाएको बताउने सोनाम भन्छन्, “काम ठुलो–सानो हुँदैन, चोरेर, ढाँटेर पो खानु हँुदैन, राम्रो काम त जे पनि हुन्छ नि ।” थोरै लगानी र आफूलाई खर्च धान्न सक्ने काम गरेकामा उनी गर्व गर्छन् । सँगै जन्मेका गाउँका साथीभाइको प्रगति, उन्नति देख्दा भने उनलाई आफूले पढ्न नपाएकामा पछुतो छ ।