स्थानीय र प्रदेश संरचना हटाउन आवश्यक छः एमाले नेता तामाङ
काठमाडौं,साउन १६ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेश संरचना हटाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता तीन तहकै हुनुपर्छ भन्ने कहीँ कतै पनि नरहेकाले प्रदेश संरचना हटाउने र स्थानीय तहलाई घटाउनेतर्फ लाग्नुपर्ने बताएका हुन् । ‘मेरो पार्टीले नमान्ला । तर, म चाहीँ भन्छु– प्रदेश संरचान किन चाहियो ? संघीयताकै कुरा गर्ने हो भने तीन तहकै हुनुपर्छ भन्ने कहाँ छ ? दुई तहको संघीयता हुँदैन र ? संघीयता दुई तहको बनाए हुन्छ नि,’ उनले भने ।
साथै, उनले केन्द्रमा सांसदको संख्या पनि घटाउनुपर्ने बताए । नेता तामाङले कूल १६५ निर्वाचनमा नै समावेशी समानुपातिकलाई मिलाउनुपर्ने बताए । केही संख्यालाई राष्ट्रिय सभामा लान पनि सकिने उनको भनाइ छ । नेता तामाङले वर्तमान सरकारले यिनै विषयलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने र पार्टीभित्र पनि यिनी विषयमा छलफल भइरहेको बताए ।
साथै, उनले विभिन्न आयोगहरुको पनि औचित्य सकिएको भन्दै तिनीहरु कटौति गर्न जरुरी रहेको बताए । स्थानीय तहको संख्या पनि ३ सयको हाराहारीमा ल्याउनुपर्ने उनले बताए । संविधान संशोधन गरेर संरचना घटाउँदा एक वर्षमा दुई खर्ब बजेट बचाउन सकिने उनले दाबी गरे । नेता तामाङले यसरी विभिन्न संरचना हटाएर साधरण खर्चबाट बचेको दुई खर्ब बजेटबाट धेरै विकास निर्माणको काम गर्न सकिने बताए ।
वर्तमान सरकारले जनताको घरदैलोमा सेवा पुर्याउने कुरालाई विशेष प्राथमिकता दिएको उनको दाबी छ । कामको हिसाबले केही हुँदैछ भनी आश्वस्त पार्नेतर्फ सरकार अगाडि बढेको नेता तामाङले बताए । ‘अहिले यो सरकार गठन भइसकेपछि जनताले स्थायित्वको महसुश गरेका छन् । मुलुकमा जाम भएको अर्थतन्त्र चलायमान भइरहेको छ । लागनीको वातावरण पनि बन्दै गएको छ । विदेशी लगानी भित्रिने वातावरण पनि बनिरहेको छ । सरकार जनताले महशुस गर्नेगरी सकारात्मक दिशामा अगाडि बढेको छ,’– उनले भने ।