भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक मादुरो निर्वाचित, विपक्षीद्वारा चुनावमा अनियमितताको आरोप
भेनेजुएला,साउन १५ । भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मादुरो निर्वाचित भएका छन् ।
राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले मादुरोले ५१ प्रतिशतभन्दा बढी मत पाएर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । सन् २०१३ देखि सत्तामा रहेका मादुरो सन् २०२५ जनवरीदेखि नयाँ कार्यकाल सम्हाल्नेछन् । भेनेजुएलामा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ ।
राष्ट्रपति निर्वाचनमा उनका प्रतिद्वन्द्वी डेमोक्र्याटिक एकात्मक मञ्च (पीयूडी)का एडमुन्डो गोन्जालेज उरुटियाले ४४ प्रतिशत मत पाएको सीएनईले जनाएको छ ।
विपक्षी नेताहरूले चुनावी नतिजाप्रति असन्तुष्टि जनाएका छन् । आइतबार साँझ विपक्षी नेताहरूले चुनावमा अनियमितता भएको आरोप लगाएका थिए । निर्वाचनका क्रममा नियम उल्लङ्घन भएको उनीहरूको आरोप छ ।
विपक्षी नेतृ मारिया कोरिना माचाडोले पत्रकार सम्मेलनमा आफ्ना उम्मेदवार उरुटियाले ७० प्रतिशत मत पाएको र मादुरोले ३० प्रतिशत मत प्राप्त गरेको दाबी गरेकी छन् । ‘भेनेजुएलामा के भयो र जनताले परिवर्तनका लागि कसरी मतदान गरे भन्ने कुरा सम्पूर्ण अन्तरराष्ट्रिय समुदायलाई थाहा छ,’ उनले भनिन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले घोषणा गरिएको परिणामले भेनेजुएलाका जनताको इच्छा वा मतलाई प्रतिबिम्बित नगरेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
भेनेजुयलाका गत आइतवार राष्ट्रपति निर्वाचन भएको थियो । एजेन्सीको सहयोगमा