आईसीपी भन्सारका कर्मचारीमाथि भन्सार विभागको अनुसन्धान



वीरगञ्ज,साउन १४  । तयारी पामोलिन तेललाई कच्चा भनेर जाँँचपास गरेपछि वीरगञ्ज आईसीपी भन्सारका अधिकारीहरूमाथि भन्सार विभागले अनुसन्धान थालेको छ । व्यापारीले कच्चा तेल घोषणा गरेर तयारी तेल भित्त्याएको आशंकामा भन्सार विभागले परीक्षण गर्दा तयारी तेल भएको पत्ता लागेको हो । 

आईसीपी भन्सारले गत असार २५ गते आरएमसी फुड्स प्रालिले भित्त्याएको पामोलिन आयलको कन्साइन्मेन्ट जाँचपास गरेको हो । भन्सार विभागले ल्याब परीक्षण गरेर तयारी र कच्चा के हो यकिन भएपछि मात्रै जाँचपास गर्न निर्देशन दिएकोमा परीक्षण नै नगरी कच्चा तेल घोषणा गरेर पास गरेपछि वीरगञ्ज भन्सारका कर्मचारी कारबाहीमा तानिएका हुन् । भन्सारका एक जना अधिकृत र जाँचकीलाई विभाग बोलाएर अनुसन्धान अघि बढाइएको भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले पुष्टि गरे । विभागले २४ घण्टे पत्र काटेर भन्सार अधिकृत सुनिता पौडेल र जाँचकी रमेश माझीलाई विभागमा तानेको छ ।

‘अनुसन्धानका क्रममा अरू पनि तानिन सक्छन् । जाँचकी र अधिकृतले मात्रै यस्तो काम गर्ने हिम्मत गर्न सक्दैनन्,’ भन्सार विभागका एक उच्च अधिकारीले भने ।

विभागले ती कर्मचारीलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन भन्दै गत असार ३० गते पत्र काटेको हो । अहिले ती कर्मचारी विभागमा हाजिर भएका छन् । मातहतको अनुसन्धान तथा अनुपालन शाखालाई अनुसन्धान अघि बढाउन र ३ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको महानिर्देशक निरौलाको भनाइ छ । 

कच्चा तेल आयातमा भन्सार महशुल १० प्रतिशत तिरे पुग्छ । तयारी तेलमा १५ प्रतिशत तिर्नुपर्ने भएपछि गलत घोषणा गरेर भित्त्याउने गरेको भन्सार विभागका अधिकारीहरूले बताएका छन् । १५ प्रतिशत राजस्व लिनुपर्ने तेल १० प्रतिशतमा छोडेपछि मिलेमतोको आशंकामा भन्सार विभागले अनुसन्धान थालेको हो । विराटनगर, मेची, भैरहवा भन्सारले कडाइ गरेपछि व्यापारीले वीरगञ्ज भन्सार रोजेका हुन् । 

भन्सार विभागको प्रयोगशालाले कच्चा तेल भनिएको पामोलिनको नमूना परीक्षण गर्दा कच्चा तेलको चारित्रिक गुण नदेखिएको रिपोर्ट दिएको छन् । भन्सारले जाँच रिपोर्ट नआउँदै १० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लिएर पास गरिदिएको थियो ।

नमूना परीक्षणको क्रममा रहेको वस्तु आयातकर्ताले छुटाउन चाहेमा बढी तिर्नुपर्ने राजस्व धरौटीमा राखेर लैजान पाउने व्यवस्था छ । अधिकृत पौडेल र जाँचकीले कच्चा पदार्थमा वर्गीकरण गरी राजस्व तिराएर तयारी तेल छोडिदिएका थिए । विभागले कारबाही अघि बढाएपछि प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीको निर्देशनमा हतारहतार ५ प्रतिशत धरौटी तिराइएको भेटिएको छ । भन्सार विभागले ३० गते ती कर्मचारीलाई विभागमा आउन पत्राचार गरेकोपछि कार्यालयले असार ३१ गते ५ प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धिकर गरी २२ लाख ३ हजार ५६९ रुपैयाँ तिराएको कागजातले देखाउँछ । प्रमुख भन्सार प्रशासक पन्थी पनि केही दिनदेखि काठमाडौंमै छन् । 

असार २३ गतेको मूल फारम ७७११५ को ५ प्रतिशत धरौटी रकम दाखिला गरिएको छ । यसअघि असार २५ मा उक्त फारममा भन्सारले मूल्य अभिवृद्धिकरसहित ९४ लाख ७७ हजार २९६ रुपैयाँ तिराएको देखिन्छ । 

यसबारेमा बुझ्न भन्सार प्रशासक पन्थी र अधिकृत  पौडेललाई फोन सम्पर्क गर्दा उनीहरू दुवै जनाको फोन उठेन । भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का र वीरगञ्ज भन्सारका सूचना अधिकारी रघुलाल कर्णले यसबारेमा आफूहरूलाई थाहा नभएको जवाफ दिए । भन्सारको पहेंलो लेनमा जाँचपास भएको तेल घोषणा फरक पारेर भित्त्याएको भेटिएपछि २०० प्रतिशत जरीवाना तिराउने कानूनी व्यवस्था छ ।

उन्मुक्ति दिन चलखेल 

अनुसन्धानमा तानिएका दुवै जना कर्मचारी अहिले सत्ताको नेतृत्व गरिरहेको दलनिकट कर्मचारी युनियनका सदस्य भएकाले कारबाहीबाट जोगाउन चलखेल शुरु भएको भन्सार विभाग स्रोतले बताएको छ । विभागले ३ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्न भनेकोमा समयसीमा सकिएको छ । तर, अहिलेसम्म प्रतिवेदन आएको छैन । 

सत्ता परिवर्तनसँगै अहिले विभागदेखि कार्यालयसम्म कर्मचारीहरूको सरुवा र फेरबदल हुने भएकाले यो अन्योलको मौकामा अनुसन्धान प्रभावित पार्ने खेल शुरू भएको भन्सार विभागका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्