एसइईको नतिजा संशोधन: नुवाकोट लिखुकी रेजिनाले ल्याइन ४ जिपिए



नुवाकोट,साउन १३ । एसइई नतिजा संशोधनका नतिजा धमाधम सार्वजनिक भैरहेका छन् । यसैबीच पृथ्वी माध्यमिक विद्यालयकी रेजिना भण्डारीले ४.०० जिपिए हासिल गरेकी छिन् ।

जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ३ की स्थायी बासिन्दा हेमबहादुर भण्डारी र रेश्मा भण्डारीकी छोरी रेजिना भण्डारीको एसइईको नतिजा संशोधन पश्चात्  ४.०० जिपिए कायम भएको हो ।

असार १२ गते प्रकाशित नतिजामा ३.९६ जिपिए रहेकी रेजिनाको सामाजिक अध्ययन विषयको नतिजा पुनर्योगका क्रममा संशोधन भई ४.०० जिपिए कायम भएको विद्यालयले जनाएको छ ।

एसइई राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योगका लागि आवेदन परेका १९ हजारमध्ये शुक्रबारसम्म चार हजार २९७ को मात्र पुनर्योग नतिजा प्रकाशन भएको छ। अझै १४ हजार सात सय तीनजनाको पुनर्योग नतिजा आउन बाँकी छ।

पुनर्योगको नतिजा प्रकाशित भएका चार हजार २९७ जनामध्ये २७५ को नतिजा फेरिएर आएको छ। अर्थात्, ६.३९ प्रतिशत विद्यार्थीले माथिल्लो ग्रेड हासिल गरेका छन् भने फेल भएका अर्थात् ननग्रेडमा परेका ८८ विद्यार्थी पास भएका छन्। यसरी पास हुनेले ‘डी’ ग्रेडदेखि ए प्लस (१.६ देखि ४ जिपिए) सम्म पाएका छन्।

४० विद्यार्थीको नतिजा सुधार भएर जिपिए चार अर्थात् ‘ए’ ग्रेड प्राप्त भएको छ। बाँकी १४ हजार सात सय तीनजनाको पुनर्योग गर्दा करिब २० देखि २२ प्रतिशतको हाराहारीमा नतिजामा सुधार परिवर्तन हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्