नेपालीको उच्च सुन मोह: तोलाकै डेढ लाखसम्म पुग्दा पनि घटेन खपत



काठमाडौं,साउन १३ । नेपालले एक वर्षमै साढे २३ अर्ब बराबरको सुन आयात गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १६ सय केजी सुन नेपाल भित्रिएको हो ।

सुन आयातमै एक वर्षमा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ बाहिरिएिको छ । यो अघिल्लो वर्षको तुलनामा भने ५.८१ प्रतिशत धेरै हो । अघिल्लो आवमा पनि नेपालमा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँ सुन आयातमा बाहिरिएको थियो ।

पछिल्लो समय सुनको अन्तरराष्ट्रिय मूल्य नै आकासिएको छ । मूल्यका कारण नेपालले धेरै ठुलो रकम बाहिर पठाउनु परेको हो । नेपालमा सुनको भाउ १ लाख ४९ हजार ८०० रुपैयाँसम्म पुगेको छ । मूल्य बढेका कारण पनि सुनको आयात रकममा बढोत्तरी देखिन पुगेको हो ।

विभागका अनुसार सुनको आयात परिमाण भने घटेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा ९.०७ प्रतिशत घटेको छ । गत वर्ष २ हजार ६५१ केजी सुन आयात भएको छ । तर, अघिल्लो वर्ष भने २ हजार ९१६ केजी बढी सुन आयात भएको थियो ।

सरकारले सुन आयात गरेर वितरण गर्ने जिम्मा वाणिज्य बैङ्कहरूलाई दिएको छ । हाल नेपालमा युनाईटेड अरब इमिरेटस् (युएई), टर्कीबाट मात्रै सुन आयात भएको देखिन्छ । यद्यपि, यस बाहेक हङकङ, स्विट्जरल्यान्ड, सिंगापुर लगायतका मुलुकबाट सुन आयात हुने गरेको छ । ती मुलुकहरूबाट हाल बैङ्कहरूले दैनिक २० केजी सुन आयात गर्दै आएका छन् ।

विभागका अनुसार सबैभन्दा धरै यूएईबाट २२ अर्ब २५ करोड ८४ लाख रुपैयाँ बराबरको २ हजार ५०० केजी सुन आयात भएको छ । यस्तै, टर्कीबाट १ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको १५० केजी र भारतबाट २२ हजार बराबरको १ हजार ३६४ ग्राम मात्रै सुन नेपाल भित्रिएको छ ।

अघिल्लो आवमा भने स्वीट्जरल्याण्ड, यूवेकिस्तानबाट पनि आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार अघिल्लो वर्ष यूएईबाट १८ अर्ब ९१ करोड ६१ करोड रुपैयाँ बराबरको २हजार ४६६ केजी सुन आयात भएको थियो । यस्तै, टर्कीबाट २ अर्ब ७२ करोड ८१ लाख बराबरको ३५० केजी, स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख बराबरको १०० केजी र युवेकिस्तानबाट २ लाख ८० हजार बराको सुन आयात भएको थियो ।

सरकारले सुन आयातबाट प्राप्त गर्ने राजश्व पनि थप १ अर्ब १० करोड बढेको छ । विभागका अनुसार गत वर्ष मात्रै ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजश्व तिरेका छन् । एक वर्षमै राजश्व ४३.७२ प्रतिशत बढेको हो । अघिल्लो आवमा भने सुन आयातबाट सरकारले २ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्