माछाका परिकार खान लेखनाथ क्षेत्रमा बढे पर्यटक



गण्डकी,साउन १३ । पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातओटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर, लेखनाथ क्षेत्र तालका कारण नभइ यहाँका पाइने माछाका परिकारले चर्चित छ । 

माछाका स्वादिला परिकारकै कारण पर्यटकीय गतिविधि बढेको यहाँका पर्यटन व्यवसायीहरूको तर्क छ । यहाँ आउने अधिकांश पर्यटक तालका कारणभन्दा पनि माछाका परिकार खान आउने गरेको उनीहरूको बुझाइ छ । 

तालमा पर्याप्त माछा पाइने भएकाले पर्यटकको रोजाइको गन्तव्य बनेको व्यवसायीहरूले सुनाए । यहाँका बेगनास, रुपालगायतका ताल र आसपासका क्षेत्रका स्थानीयहरू व्यावसायिक माछापालनमा पनि सक्रिय छन् । 

बेगनास ताल किनाराका माझीकुना, पिप्ले र ड्याम साइडलागयतका क्षेत्रमा हरेक दिन ठूलो सङ्ख्यामा पर्यटकहरू माछाका परिकार खानकै लागि आउने गरेका छन् । बेगनास तालको उत्तरी किनारास्थित पिप्ले गाउँका ४२ परिवारमध्ये अधिकांश माछामै निर्भर छन् । यहाँका ३२ परिवार जलारी समुदायका छन् भने ६ परिवार विक र चार अन्य समुदायका छन् । 

बस्ती बस्नुअघि कहिलेकाहीँ चलचित्र छायाँङ्कन र पर्यटकको ‘क्याम्पिङ’ स्थलका रूपमा मात्र रहे पनि यो स्थान अहिले माछाका पारखीको गन्तव्य बनेको स्थानीय दी फिसरम्यान रेष्टुराँका सञ्चालक टेकबहादुर जलारीले बताए ।  

स्थानीय समुदाय झण्डै साढे पाँच दशकयता माछामै निर्भर छन् । माछा विक्री गरेरै यहाँका अधिकांश परिवारले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । पिप्लेमा माछा मारेर बेच्ने मात्र नभै माछाका परिकार खुवाउने होटेल तथा रेष्टुरेन्टका कारण यो पर्यटकहरूको माछा खान जाने गन्तव्यका रूपमा स्थापित भएको हो । 

पिप्लेजस्तै माछाकै कारण पर्यटकलाई आकर्षित गरेको अर्को गन्तव्य हो बेगनास तालको पूर्वी किनारछेउको माझीकुना । झण्डै एक दशक अघिसम्म खुल्ला चौर वनजङ्गलले भरिएको यो ठाउँ यतिखेर भने पर्यटकीय गन्तव्य जस्तै बनेको छ । 

केही वर्षयता मात्रै यस स्थानको महिमा र गरिमा बढेको बताउँदै जलारीले यहाँ पाइने पोलेको माछा धेरै चर्चामा रहेको बताए ।  पछिल्लो समयमा सामाजिक सञ्जालका युट्युब, फेसबुक, टिकटक आदिले पनि माझीकुनाको आकर्षणलाई थप उचाइमा पुर्‍याएको उनको बुझाइ छ ।

विगत १० वर्षयता माझीकुनामा पर्यटकीय आकर्षण बढिरहेको उल्लेख गर्दै प्रकाश गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक प्रकाश लामिछानेले यस क्षेत्रमा हाल २८ ओटा होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा आइसकेको बताए । पछिल्लो समयमा यस क्षेत्रका व्यवसायीले पूर्वाधार निर्माणलगायतमा जोड दिएको उनले बताए । पर्यटन व्यवसायलाई व्यवस्थित गर्न यहाँका व्यवसायीहरू एकजुुट बनेको उनको भनाइ छ । 

बेगनाससँगै यहाँका रूपा, दिपाङ, खास्टे, न्युरेनी, मैदी तालहरूमा माछापालनलाई स्थानीयले जोड दिँदै आएका छन् । रुपातालमा माछाको संरक्षण र उपयोगमा जोड दिँदै रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था क्रियाशील रहेको सो संस्थाका अध्यक्ष शिवराज अधिकारीले बताए ।  

विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उनले बताए । यसबाट पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । हाल उक्त सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेका छन् । उनले सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारीसमेत दिन सकिएको बताए । 

रूपातालमा पाइने माछाकै कारण सहकारीले वार्षिक करीब रु दुई करोड बराबरको माछा उत्पादन गरिरहेको छ । उनले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत करीब २५ जातका माछा पाइने बताए । रासस  

प्रतिक्रिया दिनुहोस्