बाँदर रोक्न गोरखाको सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा



गोरखा,साउन १० । गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणको लागि नगर क्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ । 

२०८१-०८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र बाँदर नियन्त्रणको लागि घोषणा गरेको बनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत शनिबारबाट सुरु गरी १२ गते शनिबार सम्पन्न हुने गरी खाली जमिन, खोल्सा तथा सामुदायिक बनमा ६ हजार भन्दा बढी फलफूलका बिरुवा लगाउन सुरु गरिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । 

उनका अनुसार १५ औ नगर सभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका खाली जग्गा, खोल्सा तथा सामुदायिक जङ्गलमा बाँदरका लागि खानेकुरा उब्जाउन फलफूलका बिरुवा लगाउने कार्यक्रम बनाइएको उनले बताए । 

जस अनुसार बाँदरहरूलाई जङ्गलमा आहारको कमीले गर्दा करेसाबारी हुँदै घरसम्म आइपुगेकाले पनि त्यसलाई रोक्न आहारको व्यवस्था गर्न लागिएको उनको भनाइ छ । गोरखा नगरपालिकाले १० वटा वडामा भएका टोल सुधार समिति, वन उपभोक्ता समिति र पालुङटारको सम्बन्धी सरोकारवालाहरूसँग गहन छलफल गरी वनमा फलफूलका बिरुवा लगाउन सुरु भएको हो । 

नगरपालिकाले बाँदरलाई आहारको रूपमा मन पराउने आँप कटहर, केरा, बर, पिपल, स्वामी, किम्बु, अम्बा, लिची, लप्सी लगायतका बिरुवाहरू रोप्न सुरु गरिएको पालुङटार नगरपालिकाले जनाएको छ । फलफूल उत्पादन हुन थालेपछि बाँदर बनमा रोकिने नगरपालिकाले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस्