लयमा फर्किँदै वीरगञ्जको व्यापार



वीरगञ्ज,साउन १०। वीरगञ्ज नाकाका २ ओटा भन्सार कार्यालयबाट कुल आयातको करीब आधा परिमाण भित्रिने गरेको छ । आयात मूल्यका आधारमा वीरगञ्जका भन्सारबाट आधाजसो अयात भएको हो ।  

करीब दशकअघि वीरगञ्जलाई केन्द्र बनाएर गरिएको मधेश आन्दोलन र नाकाबन्दीका कारण यहाँबाट हुने वैदेशिक व्यापार अन्य नाकातर्फ केन्द्रित भएकोमा पछिल्ला वर्षहरूको तथ्यांकले वीरगञ्ज पुरानै लयमा फर्किएको देखाएको छ । 

बितेको आर्थिक वर्ष (आव) २०८०/८१ मा वीरगञ्जको आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट कुल आयातको ४७ दशमलव ०८ प्रतिशत मालसामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यसमा आईसीपी भन्सार एक्लैको योगदान ३४ दशमलव ३० प्रतिशत छ । 

संविधान जारी भएको वर्ष २०७२ को भदौदेखि माघसम्म चलेको संविधानविरोधी आन्दोलन र नाकाबन्दीले वीरगञ्ज नाका ठप्प भएको थियो । त्यसबेला साविक वीरगञ्ज भन्सार नाका आन्दोलनकारीले ठप्प पारेका थिए । वीरगञ्ज नाका बन्द भएपछि अधिकांश व्यापार भैरहवा भन्सारतर्फ गएको थियो । 

त्यस आवमा वीरगञ्ज भन्सारबाट हुने आयात २३ दशमलव ५० प्रतिशतमा झरेको थियो । माघमा नाकाबन्दी हटेपछि आयातनिर्यात शुरु भएको थियो । त्यसबेला वीरगञ्ज र सुक्खा बन्दरगाह दुवै भन्सारको कुल आयात परिमाण समग्र आयातको ३५ प्रतिशतमा खुम्चिएको थियो । देशको मध्यभागमा रहेको, समुद्री बन्दरगाहबाट छोटो दुरी र सहज पारवहन, सबैभन्दा ठूलो औद्योगिक कोरिडोरमा रहेको नाकाबाट व्यापार खुम्चिएपछि स्थानीय उद्यमी व्यापारी चिन्तित भएका थिए । 

त्यसपछिका वर्षहरूमा वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात क्रमशः सुध्रिँदै आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । आव २०७९/८० मा आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट ४७ दशमलव ३७ प्रतिशत आयात भएको तथ्यांक छ । नाकाबन्दीताका भैरहवा भन्सारको आयातको तथ्यांक ह्वात्तै बढेको थियो । 

आव २०७२/७३ मा कुल आयातमा भैरहवाबाट करीब २५ प्रतिशत भित्रिएको देखिन्छ । त्यसबेला वीरगञ्जको केही व्यापार विराटनगर नाकातर्फ पनि केन्द्रित भएको थियो । त्यतिबेला भैरहवा भन्सारतर्फ गएको गाडीको आयात अझै पनि वीरगञ्जमा फर्किइनसकेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी बताउँछन् । 

वीरगञ्ज नाकाबाट मुख्यरूपमा इन्धन, सवारीका साधन र औद्योगिक कच्चा पदार्थको आयात बढी हुन्छ । निर्यात व्यापारतर्फ भने आईसीपी र विराटनगर भन्सारबाट सामान २० प्रतिशतको हाराहारीमा निकासी भएको देखिन्छ । वीरगञ्जबाट कपडा, जुस, प्रशोधित तेल, धागोलगायतको निर्यात हुन्छ । विराटनगरबाट तरकारी, जुट, चियाजस्ता उत्पादन निकासी हुने भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

व्यापार व्यवसाय जता सहज वातावरण बन्यो त्यतै जानु स्वाभाविक भएको उद्यमी अरविन्द्र अमात्य बताउँछन् । ‘उद्यम व्यापारमा वीरगञ्जको विशिष्टता उपयोगका लागि व्यापारमा सहजीकरण र उद्यम व्यापारमैत्री वातावरण प्रवर्द्धनमा जोड दिनु पर्छ । भौगोलिक र भौतिक पूर्वाधारलाई नीति र प्रवृत्तिले उकास्न सकिन्छ,’ अमात्यको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस्