भरतपुर वितरण केन्द्रले १ वर्षमा ३ हजार ५१७ ग्राहकको काट्यो लाइन



चितवन,साउन १० । नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले पछिल्लो एक वर्षमा साढे ३ हजारभन्दा बढी ग्राहकको लाइन काटेको छ । 

केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा लामो समय महसुल नतिर्ने ३ हजार ५१७ जनाको लाइन काटेको हो । पाँच महीनाभन्दा बढी समयदेखि बिजुलीको महसुल नबुझाएका ग्राहकको मात्रै लाइन काटिएको केन्द्रले जनाएको छ ।

लाइन काटिएकामध्ये ३ हजार ४३६ जना ग्राहकसँग जरिवाना लिएर पुनः लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर रामु श्रेष्ठले जानकारी दिए । जरिवाना तिराइएका ग्राहकहरूबाट ६ करोड ४२ लाख ३ हजार ३५६ रुपैयाँ महसुल असुल गरिएको र पुनःजडान शुल्कस्वरूप २९ लाख १२ हजार रुपैयाँ संकलन भएको उनले बताए ।

‘नेपाल विद्युत प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावलीमा मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा विद्युत् लाइन काटिने व्यवस्था रहेको छ,’ उनले भने । 

समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्यलाई तीव्र बनाइएको उनले बताए । लाइन काटिएका ग्राहकले बिल रकममा २५ प्रतिशत जरिवाना तिर्नुपर्ने उनले जानकारी दिए ।

पुनः लाइन जोड्दा प्राधिकरणले थप ८४७ रुपैयाँ शुल्क लिने गरेको छ । मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाउँदा दुई प्रतिशत छूट पाउन सकिने व्यवस्था छ । महसुल अनलाइनबाट समेत भुक्तानी गर्न सकिने भएकाले अतिरिक्त समय र जरिवानाबाट बच्न उनले ग्राहकलाई आग्रह पनि गरे । 

मिटर रिडिङ भएको आठौं दिनदेखि १५औं दिनसम्म बिलअनुसारकै महसुल भुक्तानी गर्नुपर्छ भने १६औं दिनदेखि ३०औं दिनसम्म महसुल बुझाएमा पाँच प्रतिशत जरिवाना लाग्छ । त्यस्तै, मिटर रिडिङ भएको ३१औं दिनदेखि ४०औं दिनसम्म महसुल बुझाएमा १० प्रतिशत र ४१औं दिन र त्यसपछि महसुल बुझाएमा २५ प्रतिशत जरिवाना लाग्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्