बागमती प्रदेशका क्यान्सर पीडितलाई एक लाख सहयोग  : स्वास्थ्यमन्त्री थापा



काठमाडौ, साउन ९ । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सर पीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् ।

बुधबार पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सर पीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्री थापाले भने, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सर पीडितलाई रु ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।” उनले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताए ।

त्यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भने, “मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्याई  जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्