सौर्य विमान दुर्घटनामा पाइलटबाहेक सबैको मृत्यु
काठमाडौं,साउन ९ । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको सीआरजे सेभेन (९एनएएमई) जहाज उदेने बित्तिकै दाहिने तिर मोडिएर रनवेको पूर्वतर्फ दुघनाग्रस्त भएको थियो । विमानमा १९ यात्रु सवार थिए ।
पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको पुष्टी प्राधिकरणले गरेको छ ।
विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।