टेस्लाले अर्को वर्ष ‘ह्युमनोइड रोबोट’ प्रयोग गर्ने मस्कको घोषणा



वासिङ्टन डिसी (अमेरिका),साउन ९ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले अर्को वर्षदेखि आफ्नो कम्पनीले ‘ह्युमनोइड रोबोट’ उत्पादन र प्रयोग शुरु गर्ने बताएका छन् ।

मस्कले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त कुरा बताएका हुन् । उनले ‘एक्स’मा लेखेका छन्, ‘यी रोबोटहरू सबैभन्दा पहिले टेस्लाले प्रयोग गर्नेछ र सन् २०२६ मा विक्रीका लागि बनाउन थाल्नेछ ।’

यसअघि उनले यस वर्षको अन्त्यसम्ममा टेस्लाको कारखानामा अप्टिमस नामक रोबोट प्रयोगका लागि तयार हुने बताएका थिए । 

होन्डा र बोस्टन डाइनामिक्सलगायत कम्पनीले पनि आफ्नै ‘ह्युमनोइड रोबोट’ विकास गरिरहेका छन् ।

‘टेस्लासँग अर्को वर्ष कम्पनीको आन्तरिक प्रयोगका लागि कम उत्पादनमा वास्तवमै उपयोगी ह्युमनोइड रोबोटहरू हुनेछन्,’ उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् । 

कम्पनीले ‘असुरक्षित’, दोहोरिने वा ‘बोरिङ’ काम गर्नका लागि ‘स्वायत्त ह्युमनोइड रोबोट’ निर्माण गर्ने लक्ष्य राखेको बताएको छ ।

यसअघि मस्कले टेस्लाले यी रोबोटहरू ठूलो मात्रामा उत्पादन गर्ने र प्रत्येकको लागत २० हजार अमेरिकी डलरभन्दा कम हुने बताएका थिए ।

सन् २०१९ मा उनले टेस्लाले अर्को वर्षसम्ममा सेल्फ ड्राइभिङ ट्याक्सी सडकमा उतार्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

यस वर्षको शुरुमा उनले आगामी अगस्ट ८ मा बहुप्रतिक्षित रोबोटएक्सी सार्वजनिक गरिने बताएका थिए । तर, गत हप्ता उनले उक्त कार्यक्रममा केही ढिलाइ हुने बताएका थिए । 

मस्कले सेल्फ ड्राइभिङ ट्याक्सी सार्वजनिक हुने नयाँ मिति भने खुलाएका छैनन् । तर, आफूले गाडीको अगाडिको भागमा परिवर्तन गर्न अनुरोध गरेको उनले बताएका छन् ।

विद्युतीय सवारीसाधनको माग घटिरहेको बेला मस्कको कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स, अटोनोमस ड्राइभिङ र रोबोटजस्ता प्रविधिमा ध्यान केन्द्रित गरिरहेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्