भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने
काठमाडौं,साउन ८। भारत सरकारले नेपाललाई ७०० करोड भारतीय रुपैयाँ (११ अर्ब २० करोड रुपैयाँ) अनुदान दिने भएको छ ।
मंगलवार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०२४–२५ मा उक्त अनुदान दिने उल्लेख गरिएको छ । यो रकम गत आर्थिक वर्ष २०२३–२४ को संशोधित अनुमानभन्दा ५० करोड भारतीय रुपैयाँ (८० करोड रुपैयाँ) बढी हो ।
गत आर्थिक वर्षमा भारतले नेपाललाई ६५० करोड रुपैयाँ (१० अर्ब ४० करोड रुपैयाँ) उपलब्ध गराउने संशोधित अनुमान छ ।
भुटानलाई सबैभन्दा बढी
भारतले भुटानलाई दिने अनुदान सबैभन्दा बढी छ । भारतले भुटानलाई २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
त्यस्तै मंगोलियालाई ५०० करोड, माल्दिभ्सलाई ४०० करोड, म्यानमारलाई २५० करोड, श्रीलंकालाई २४५ करोड, अफगानिस्तानलाई २०० करोड, बंगलादेशलाई १२० करोड र अफ्रिकी मुलुकहरूलाई २०० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।