नुवाकोटका पहिरो पीडितलाई तत्काल सुरक्षित बास र राहतको व्यवस्था गर्न सांसद तामाङकाे माग



काठमाडौं, साउन ८ । नुवाकोट निर्वाचन क्षेत्र नं १ का नेकपा (माओवादी केन्द्रका) सांसद हितबहादुर तामाङले नुवाकोटका पहिरो प्रभावितलाई तत्काल सुरक्षित बास र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले हालैको अविरल वर्षापछि नुवाकोटका शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर, सूर्यगढीलगायत पालिकामा ठूलो धनजनको क्षति पुर्‍याएकोले त्यहाँका पीडितलाई राहत तथा सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका सांसद तामाङले पीडितहरुलाई तत्काल सम्बन्धित तहका सरकारहरुले स्वीकृत मापदण्डअनुसार राहत वितरण, जोखिममा परेकाहरुलाई सुरक्षित ठाउँमा वैकल्पिक बासस्थानको व्यवस्था मिलाउने तथा भौतिक सम्पत्तिको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरे ।

प्राकृतिक प्रकोपबाट क्षति पुगेका घरहरु निर्माणका लागि म्याचिङ फन्डअन्तर्गत संघीय सरकारले दिनुपर्ने बजेट नदिँदा प्रभावितका घरहरु बन्न नसकिरहेको तर्फपनि उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद तामाङले भने, “अब तुरुन्तै देशैभरिबाट हजारौँ घर बनाउनुपर्ने अवस्था सिर्जना हुनेवाला छ । जोखिममा परेका क्षति भएका घरहरुको सट्टामा पुनर्निर्माण प्राधिकरणले संघीय सरकारबाट ६५ प्रतिशत, प्रदेश सरकारबाट २०प्रतिशत र पालिकाबाट १५ प्रतिशतको म्याचिङ फण्ड गरेर ४ लाखको दरले घर निर्माण गर्न सहयोग गर्ने भन्ने छ । तर संघीय सरकारले दिनुपर्ने रकम नपठाएकोले घरहरु बन्न सकिरहेका छैनन् सरकारको त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँछु । ”

साथै उनले आगामी वर्षदेखि राष्ट्रिय विपत न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले देशैभरिका बस्तीहरुको प्राविधिक सर्वेक्षण गरेर जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण गराउने योजना बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

केही दिनअघि पञ्चकन्या, शिवपुरी लगायत पहिरो प्रभावित क्षेत्र अवलोकनमा पुग्नुभएका तामाङ सोमबार जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटको बैठक उपस्थित भएका थिए । बैठकमा प्राप्त गरेको रिपोर्टका आधारमा जिल्लाको पञ्चकन्या गाउँपालिका-१ का ५५ वर्षीय अक्कलबहादुर राईको खोलाले बगाएर निधन भएको, वडा न. २ को कान्ले, कोडथोक भसभसेमा पहिरोकै कारण घर जोखिममा छन् । पञ्चकन्याकै वडा नम्बर ५ को पाण्डे टोल, वैद्य टोल, दुई तले, थपलिया टोल गरी २३ घर पूरै जोखिममा रहेको विवरण उनले संसद्मा राखेका छन् ।

यस्तै शिवपुरी गाउँपालिका-५ को मूलाबारीमा खड्काहरुका २ घर पहिरोबाट जोखिममा, जेब्राङमा रामबहादुर घलेको पहिरोमा परेर ५ वटा खसी/बाख्रा मारेका र त्यस आसपासमा १७ घर जोखिममा छन् । चेंगेरेङका बस्तीहरु पनि जोखिममै छन् । गारेको सिरानटोलमा अमिर तामाङ समेतका घरहरु कोही लडाएका छन्, कुनै लडाउने र बगाउने अवस्थामा छन् । उक्त टोलमा १७ घर जोखिम, कुखुरेमा भिमसेन थापा र बलबहादुर भण्डारीको घर पहिरोले बगाएको र अन्य ७ घर जोखिममा रहेको समेत विवरण राखेका थिए ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को बोलुङ कटुन्चेमा गाउँको ठूलो ढुंगा लड्न खोजिरहेको र त्यो ढुंगा खसेमा १८/१९ घरमा क्षति पुर्‍याउन सक्ने, वडा न. १ कै स्योलोलो भन्ने गाउँमा जितसिङ तामाङको घर पिँढीसम्मै पहिरोले दख्खल दिएकोले ती तामाङ परिवार गाउँमा अन्तै आश्रय लिएर बसेका तथा बेलकोटगढी नगरपालिका वडा नम्बर -३ रुपिङस्थित दलित टोलमा केही घर क्षति भएको समेत सांसद तामाङले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्