‘नेपालमा आँप खेतीको सम्भावना छ तर पर्याप्त क्षेत्र विस्तार हुन सकेन’



काठमाडौं,साउन ८ । नेपालमा पहिलो पटक ‘आँपसम्बन्धी विचार गोष्ठी’ आयोजना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र आर एण्ड डीको संयुक्त आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठीबाट आँपको खेती, बजारीकरण, क्षेत्र विस्तार, प्रविधि विकास, जात विकास लगायत क्षेत्रमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । गोष्ठीबाट आएको निष्कर्ष अनुसार आँप क्षेत्रमा भएका अवसर र चुनौतीको बारेमा सरकारलाई सुझाव दिने आयोजकले बताएको छ । 

गोष्ठीमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आँप खेतीको प्रवद्र्धन गर्न सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताएका छन् । मन्त्रीे अधिकारीले दिने गोष्ठीको माध्यमबाट आगामी दिनमा आँपसँग सम्बन्धित विभिन्न समस्या पहिचान गर्ने यस क्षेत्रमा आवश्यक रणनीति तयार गरी अघि बढ्नको लागि सरोकारवालासँग आग्रह गरेका छन् ।

मन्त्री अधिकारीले आँपको व्यावसायिक खेती प्रवद्र्धन गर्नको लागि सरकारबाट सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत सप्तरी, धनुषा, पर्सा, बारालगायत देशभरका ७७ जिल्लामध्ये ७६ जिल्लामा आँप खेती भइरहेको छ । 

कार्यक्रममा नेपाल हर्टिकल्चर सोसाइटीका राम बदल साहले नेपालमा आँपको सम्भावना रहे पनि पर्याप्त मात्रामा क्षेत्र विस्तार हुन नसकेको बताए । हाल नेपालमा बर्सेनि करीब ५ लाख मेट्रिक टन आँप उत्पादन हुँदै आएको छ । सिपीया, केन्ट, अल्फान्सो, फजली, मालदह, निलम लगायत विभिन्न आँपका प्रजाति नेपालमा पाइने उनले सुनाए ।  

साहले फलफूल क्षेत्रमा अनुसन्धानात्मक कार्य हुन नसकेको औंल्याएका छन् । ‘आँप लामो अवधिको बाली भएकोले यसको प्रतिफल आउन बढी समय लाग्ने हुनाले कुनै विदेशी सरकारको सहायतामा रुचि नदेखिएको वा पाइएको छैन,’ उनले भने । 

साहले आँपको लागि सघन कार्य योजना र कार्यान्वयनमा कमी देखिएको बताए । उद्योगलाई चाहिने मात्रामा कच्चा पदार्थ (ऑप÷पल्प) को कमी, आवश्यकता अनुसार जातको छनोट गरी व्यवासायिक रूपले त्यसको प्रवद्र्धन गर्नुपर्ने आवश्यक देखिएको उनने बताए ।

कार्यक्रममा अष्ट्रेलियन दूतावासकी कविस्थ कस्यनाथनले आजको गोष्ठीले आँपको समस्या र अवसर पहिचान गर्ने उल्लेख गरिन् । गोष्ठीले आँपको व्यावसायिकरणमा जोड पुग्ने उनले बताइन् । 

व्यवसायी उमेश श्रेष्ठले नेपालमा ४ खर्ब बराबरको कृषि उपजको वस्तु आयात हुने बताए । बर्सेनि २५ अर्बको मात्रै स्याउ आयात भइरहेको उनको भनाइ छ । उनले नेपालमा कृषिमा योजना धेरै बनाए पनि कृषिजन्य वस्तुको आयात भने नरोकिएको सुनाए । उनले आँप खेतीमा नयाँ प्रविधि प्रयोग गर्न सुझाएका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यवाहक कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले आँपमा खासै अनुससन्धान हुन नसकेको बताए । गोष्ठीले आफूहरूलाई अनुसन्धान र अध्ययन गर्न टेवा पुग्ने आश व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्